• फाल्गुन २९ २०८२, शुक्रबार

टिप्पणी : प्रचण्डको पुनरावृत्तिले माओवादीको आकार साँघुरिँदै

पुष १० २०७८, शनिबार

काठमाडौं । संघीय राजधानी काठमाडौंमा आज (शनिबार) सम्पादकहरूसँगको छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीलाई नयाँ शिराबाट लैजाने छौँ, जसका लागि नयाँ नीति निर्माण र सैद्धान्तिक कार्य दिशा तय भइसकेको र त्यसलाई सम्मेलनबाटै अनुमोदन गरिनेछ ।’

प्रचण्डले यसो भन्दै गर्दा सम्मेलनले नयाँ नीति तय गर्ने नै छ । तर, भोलिबाट सुरु हुने सम्मेलनबाट भने उनी आफू नै अध्यक्ष बन्ने पक्का छ । किनकि हालसम्म माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गर्ने अर्को नेताले आँट देखाएका छैनन् । हुन त उनी तीन दशकयता नेपाली कम्युनिस्ट राजनीतिको शीर्ष नेतृत्वमै छन् । उनी सत्ता र शक्तिको आँडमा रमाउने नेताका रूपमा पनि परिचित छन् । त्यतिमात्रै होइन, उनी शान्ति प्रक्रिया हुँदै मूलधारको राजनीतिमा आएदेखि नै प्रायः सत्तामा छन् भने हालसम्म पार्टीको अध्यक्ष नै हुन् ।

यद्यपि भोलिबाट सुरु हुने सम्मेलनमा अध्यक्ष पदका लागि माओवादी केन्द्रमा पेचिलो बहस नभए पनि महासचिव पदका लागि भने बहस जारी नै छ । महासचिवमा केही नेता आकांक्षी देखिएका छन् । आगामी सम्मेलन वा महाधिवेशनले अध्यक्ष प्रचण्डको विकल्प खोज्ला वा नखोज्ला त्यो भोलिको दिनमा बहस गरौँला । तथापि आजको दिनसम्म आइपुग्दा प्रचण्डको विकल्पमा कुनै पनि नेता देखिएनन् । र, तीन दशकयता उनी नै अध्यक्ष पदमा छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ वि.सं. २०४६ सालभन्दा पहिले कम्युनिस्ट राजनीतिमा क्रियाशील भएपनि उनी मूलतः २०४८ सालमा शीर्ष नेतृत्व तहमा पुगेका हुन् । २०४८ सालमा उनी नेकपा (मशाल)को महामन्त्री भएदेखि नै उनले पछाडि फर्किनु परेको छैन । राजनीतिमा अनेकन् आरोह–अवरोहको सामना गर्नु परेपनि शीर्ष पदिय दायित्व र गहण जिम्मेवारीबाट पछि हट्नु परेको छैन । उनी २०४८ मा नेकपा (एकता केन्द्र)को महामन्त्री बने । त्यसपछि २०५१ सालमा तत्कालीन नेकपा (एकता केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकबाट पार्टीको नाम परिवर्तन गरेर नेकपा (माओवादी) राखियो र उनी महामन्त्री भए । त्यसपछि २०५७ सालमा माओवादीको अध्यक्ष बन्न पुगे ।

प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टी शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्डलाई नै अध्यक्ष राखेर २०६३ साल चैत २७ गते निर्वाचन आयोगमा पार्टी दर्ता गरियो । त्यतिबेला आयोगमा दर्ता गरिएको पार्टीको नाम एकीकृत नेकपा माओवादी थियो । त्यसपछि माओवादीले पहिलो पटक अर्थात् २०६९ साल माघ २० गतेदेखि २६ गतेसम्म हेटौँडामा महाधिवेशन सम्पन्न गर्यो । उक्त महाधिवेशनले प्रचण्डलाई नै अध्यक्ष चयन गर्यो भने डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ उपाध्यक्षमा चयन भए । पोष्टबहादुर बोगटी महासचिव बने ।

त्यसपछि माओवादीले विराटनगरमा २०७१ साल वैशाख १८ देखि २३ गतेसम्म राष्ट्रिय सम्मेलन गरेको थियो । उक्त राष्ट्रिय सम्मेलनले पनि प्रचण्डलाई नै अध्यक्षमा अनुमोदन गर्यो र भट्टराई वरिष्ठ नेता बने । श्रेष्ठ र बोगटी उपाध्यक्ष भए । कृष्णबहादुर महरालाई भने महासचिव बनाइयो । त्यसयता माओवादीले राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा ४ अनुसार पाँच वर्षमा राजनीतिक दलले निर्वाचन अनिवार्य गर्नुपर्ने व्यवस्था गरेपनि त्यसो गर्न सकेन । दलसम्बन्धी ऐनलाई लत्याउँदै न सम्मेलन गर्यो न त महाधिवेशन । बरु उसले अन्य पार्टीसँग एकता गरेर हालसम्म सम्मेलन वा महाधिवेशन गर्न सकेको थिएन ।

यो त थियो, प्रचण्डको पुनरावृत्ति । अब प्रशंग सुरु गरौं, उनको पुनरावृत्तिले माओवादीको आकारमा आएको परिवर्तन । प्रचण्ड विगत तीन दशकयता शीर्ष नेतृत्वमा दोहोरिरहेका नेता हुन् । यद्यपि सशस्त्र द्वन्द्वमा हुँदा प्रचण्डले माओवादीको नेतृत्व सम्हाले पनि शान्ति प्रक्रियामा आइसकेपछि शीर्ष नेताहरू मोहन वैद्य ‘किरण’, डा.बाबुराम भट्टराईले पार्टीको नेतृत्व गर्न नचाहेका होइनन् । तथापि प्रचण्डले उनीहरूलाई बीचमै अनेकन् तिकड्म र जालसाँची रचेर नेतृत्वमा पुग्न दिएनन् । प्रचण्डको तिकड्मबाजी देखेर आजित भएका नेता वैद्यको समूहले काठमाडौंको बौद्धमा २०६९ असार २ र ३ गते संयुक्त भेलाको आयोजना गर्यो । उक्त भेलाबाट प्रचण्डले क्रान्तिलाई धोका दिएको र दक्षिणपन्थीको कोभाजनमा फसेको निष्कर्ष निकाल्दै क्रान्तिको उद्देश्य पूरा गर्न ४० प्रतिशतभन्दा बढी सदस्यसहित पार्टी फुटाएर बैद्य नेतृत्वको नेकपा–माओवादी गठन गर्यो ।

यहीँबाट माओवादीको आकार घट्दै–घट्दै जान थालेको हो । यतिले मात्रै पुगेन, वैद्य नेतृत्वको पार्टीमा पनि असन्तुष्टि बढ्दै गयो । वैद्य यथास्थितिवादी र जडसूत्रवादी भएको आरोप लगाउँदै २०७१ साल मंसिर १५ गते नेत्रविक्रम चन्द ‘विप्लव’ वैद्यको पार्टीबाट छुट्टिएर नेकपा माओवादी हाल (नेपाल कम्युनिस्ट पार्टी) गठन गरे भने २०७३ जेठ ६ गते रामबहादुर थापा ‘बादल’समूहले पनि वैद्यको पार्टी छाडेर फेरि प्रचण्ड नेतृत्वको माओवादीमै फर्कियो ।

डा.बाबुराम भट्टराई २०७२ असोज ९ गते माओवादीबाट अलग भएका थिए । उनले २०७३ जेठ ३० गते नयाँ शक्ति नेपाल पार्टी गठन गरे । भट्टराईको नयाँ शक्ति पार्टी पनि २०७६ वैशाख २३ गते उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरमसँग एकता भएर समाजवादी पार्टी नेपाल गठन भयो । त्यस्तै माओवादीका अन्य नेताहरू गोपाल किराँती, विश्वभक्त दुलाललगायतले पनि माओवादी छाडे ।

यसरी यी नेताहरूले एकाएक पार्टी छोड्दै गएपछि माओवादीको आकार विस्तारै-विस्तारै साँघुरिँदै गयो । २०६४ सालको संविधान सभाको चुनावमा देशको पहिलो पार्टी बनेको माओवादी हाल तेस्रो पार्टीमा खुम्चिनु परेको छ । पहिलो पार्टीबाट तेस्रो पार्टीमा झरेपछि प्रचण्डले माओवादी केन्द्रलाई एमाले पार्टीमा एकता गराए । एमाले–माओवादी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरियो । त्यसको केही समयपछि सर्वोच्च अदालतले नेकपा बदर गरिदियो र एमाले, माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए । त्यसपछि माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’, मणि थापा, लेखराज भट्टलगायतका केही नेता एमालेमै रहे ।

यसरी हेर्ने हो भने माओवादी केन्द्र चिरा–चिरा पर्नु, केही शीर्ष नेताले पार्टी नै परित्याग गरि अन्य पार्टीमा प्रवेश गर्नुले प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाएको छ भने पार्टीको आकार पनि वर्षेनी साँधुरिँदै गएको छ । यसर्थ उनको विकल्प खोज्नु जरुरी हो या त पार्टीलाई सुदृढ गर्नुपर्ने हो ? माओवादी केन्द्रले सोच्नुपर्छ । अन्यथा पार्टीको अस्थित्व नै धराप पर्ने प्रवल सम्भावना देखिन्छ ।