• असार २३ २०८१, शनिबार

बन्ध्याकरण गर्नेमा पुरुष भन्दा महिला बढि, यस्तो छ कारण

पुष १० २०७८, शनिबार

दाङ, १० पुस ।
स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या भन्दा महिलाको संख्या तेब्बर रहेको नेपाल परिवार नियोजन संघ दाङ शाखाले जनाएको छ । विभिन्न खालका अन्धविश्वास, यौन शक्तिमा कमी आउँछ भन्ने धारणा विकास हुनुजस्ता कारणले पुरुषहरु बन्ध्याकरणकालागि नआएको हुनसक्ने शाखा कार्यालयले जनाएको छ ।

पछिल्लो ४ वर्षको तथ्यांक हेर्ने हो भने, ८ सय १ जनाले स्थायी बन्ध्याकरण गरेका छन् भने इच्छा विपरित गर्भ रही स्वास्थ्य संस्थामा गई गर्भपतन गराउनेको संख्या झण्डै तेब्बर छ । जसमा १ सय ४३ जना पुरुषले स्थायी बन्ध्याकरण गराउँदा ६ सय ५८ जना महिलाले परिवार नियोजनको स्थायी बन्ध्याकरण गरेको तथ्यांक छ ।

शाखा प्रबन्धक बसन्त खनालका अनुसार, अझै पनि विभिन्न खालका अन्धविश्वास, यौन शक्तिमा कमी, भ्रमका कारण मानिसहरु सन्तानको रहर पूरा भएपनि स्थायी बन्ध्याकरणका लागि इच्छुक हुन नसकेको बताए । महिलाको भन्दा पुरुषको बन्ध्याकरण गर्दा छिटो र सहज रुपमा हुने गर्दछ ।

यद्यपि, पुरुषमा विद्यमान अन्धविश्वास, यौन चाहनामा कमि हुने मनोविज्ञानलाई संस्थाका तर्फबाट हटाउन धेरै खालका सचेतनामुलक कार्यक्रम जारी रहेपनि अझै धेरै गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । उनका अनुसार स्थायी बन्ध्याकरण गर्दा यौन सन्तुष्टि अझ बढी हुने, शारीरिक समस्या नहुने हुँदा ढुक्कका साथ सुरक्षित जीवनका लागि स्थायी बन्ध्याकरण रोज्नु नै उत्तम हो ।

यस्तै, पुरुषभन्दा महिलाहरुले आफुले नै स्थायी बन्ध्याकरण गर्ने गरेका बताए । पुरुषहरु घरबाहिरको काममा जानु पर्ने, उनीहरुमा शारीरिक समस्या नआओस् भनेरै महिलाहरु स्वयं स्थायी बन्ध्याकरणका लागि अघि सर्ने गरेका बताए । “जे हुन्छ म सहन्छु भन्ने मान्यताका कारण पनि महिलाहरुले उल्लेख्य रुपमा बन्ध्याकरण गर्ने गरेका छन्” उनले भने । बन्ध्याकरण श्रीमान श्रीमतिको सहमतिमा जसले गरेपनि हुन्छ भन्ने मनोविज्ञान भने बिस्तारै बढ्न थालेको उनको भनाई छ ।

परिवार नियोजन संघ दाङ शाखाबाट सन् २०१७ मा २६ जना पुरुषले बन्ध्याकरण गरेका छन् भने १ सय ६५ जना महिलाले मिनिल्याप गरेका छन् । यस्तै, २०१८ मा ४८ जना पुरुषले बन्ध्याकरण गर्दा १ सय ६९ महिलाले मिनिल्याप गरेका छन् । यस्तै, २०१९ मा १५ जना पुरुषले बन्ध्याकरण गर्दा १ सय ६८ जना महिलाले मिनिल्याप गरेका छन् ।

२०२० मा १७ जना पुरुषले बन्ध्याकरण गर्दा ४४ जना महिलाले मिनिल्याप गरेका छन् । यस्तै, २०२१ मा हालसम्म ३७ जना पुरुषले बन्ध्याकरण गरिसकेका छन् भने १ सय १२ जना महिलाले मिनिल्याप गरेका शाखा प्रबन्धक खनालले जानकारी दिए । स्थायी बन्ध्याकरण गर्ने भन्दा अस्थायी परिवार नियोजनका साधन अपनाउने, असुरक्षित यौन सम्पर्कका कारण गर्भ रहन गई गर्भपतन गर्नुपर्नेसम्मको अवस्थामा पुग्नेको संख्या अझ डरलाग्दो छ ।

परिवार नियोजन संघका अनुसार जिल्लाका सुचिकृत स्वास्थ्य संस्थाहरुमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । पछिल्लो ४ वर्षको अवधिमा परिवार नियोजन संघको सम्पर्कमा आई गर्भपतन गराउनेको संख्या २ हजार ७ सय ८६ रहेको छ । जसमा औजारको प्रयोग गरी १ हजार १ सय ९० जना रहेका छन् भने औषधीको प्रयोग गरी गर्भपतन गराउनेको सख्या १ हजार ५ सय ९६ रहेको प्रबन्धक खनालले बताए । सानो लापरवाहीले शारीरिक, मानसिक, आर्थिक समस्या झेल्न बाध्य भएपनि अझै धेरैले गलत बाटो रोज्दा यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गर्न चुनौतिपूर्ण रहेको छ ।

विद्यालयबाटै यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा बालबालिकाहरुलाई स्पष्ट जानकारी दिने उद्देश्यले विभिन्न चरणमा अभियान समेत भईरहेकाले आगामी दिनमा सुधारका राम्रा संकेत आउन सक्ने अपेक्षा गरिएको उनको भनाई छ ।

“अहिलेको एक रुपैयाँ लगानीले ३ रुपैयाँ प्रतिफल दिने भएपनि अझै धेरैमा विभिन्न खालका भ्रम र अन्धविश्वासले जरा गाडेको छ, यौन तथा प्रजननका विषयमा स्पष्ट हुन सकेमात्रै परिवारलाई मात्रै होइन, समाज र राष्ट्रका लागि ठूलो योगदान पुग्नेछ” उनले भने ।

स्वस्थ्य नागरिक उत्पादन र दीगो विकासको लक्ष्य प्राप्तिका लागि पनि यौन तथा प्रजननका क्षेत्रमा सुधार हुन आवश्यक छ । जसलाई सघाउ पुर्याउन नेपाल परिवार नियोजन संघले हरेक वर्ष यौन तथा प्रजननका विषयमा शिविर संचालन गर्दै आएको छ ।

यो पटक पनि दाङका विभिन्न ८ स्थानमा स्थायी बन्ध्याकरण घुम्ती शिविर शुरु गरिएको छ । स्वास्थ्य कार्यालय दाङ र नेपाल परिवार नियोजन संघ दाङको संयुक्त आयोजनामा अनुभवी विशेषज्ञ डाक्टर सहितको टोलीले स्थायी बन्ध्याकरण घुम्ती शिविर गरिरहेको शाखा प्रबन्धक खनालले जानकारी दिए । विषय विशेषज्ञ सहित १० जना परिवार नियोजन संघको टोलीले अहिले स्थायी बन्ध्याकरण शिविर संचालन गरिरहेको उनले बताए ।

उनका अनुसार, पुस १ गतेदेखि ३ गतेसम्म नेपाल परिवार नियोजन संघ दाङ शाखा घोराहीमा, पुस ४ र ५ गते सिसहनियाँ स्वास्थ्य चौकी सिसहनियाँमा, पुस ६ र ७ गते गढवा स्वास्थ्य चौकी गढवामा, पुस ८ र ९ गते लमही अस्पताल लमहीमा, ११ गते पञ्चकुले स्वास्थ्य चौकी पञ्चकुलेमा, पुस १२ गते श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, श्रीगाउँमा, पुस १३ र १४ गते राप्ती लाईफकेयर हस्पिटल तुलसीपुरमा र पुस १६ गते बंगलाचुली अस्पताल कमिरेचौरमा स्थायी बन्ध्याकरण शिविर हुन लागेको छ ।