जनकपुर । काँग्रेस नेता विमलेन्द्र निधि प्रदेश २ को पार्टी समितिमा आफूपक्षीय नेतालाई जिताउन असफल भएका छन् । क्षेत्रीय र प्रदेश प्रतिनीधि छनोटमा निकै पछि परेका निधिले गृहप्रदेशको उपल्लो पार्टी संरचनाका लागि नेता शेखर कोइरालासँग समीकरण बनाएका थिए ।
तर उनले प्रदेश सभापतिमा अघि सारेका उम्मेदवार रामसरोज यादव शेरबहादुर देउवा प्यानलका कृष्णप्रसाद यादवसँग पराजित भएका छन् ।
दसैंयता लामो समय जनकपुरमा बिताएका निधिका लागि पार्टीको प्रदेश २ अधिवेशन ‘प्रतिष्ठा’ को विषय बनेको थियो । उनले गृह प्रदेशको झमेला सल्टाउन धेरै दिनसम्म निकै मिहिनेत पनि गरेका थिए । तर वडा अधिवेशनहरूबाटै उनीपक्षीय प्रतिनिधि छानिन सकेनन् ।
निधिले जोडबल गरेर नगर र क्षेत्रीय अधिवेशन भने सर्वसम्मत गराउन सफल भएका थिए । त्यति बेला केन्द्रीय सभापतिका आकांक्षी रहेका निधिले प्रदेश २ मा आफ्नो प्रभाव कायम राख्न निकै कसरत गरे । उनी देउवासँगको साढे दुई दशक लामो सम्बन्धविच्छेद गरेर महाधिवेशनको संघारमा अघि बढेका थिए । करिब ८ सय मतदाता रहेको प्रदेश २ बाटै निधिले केन्द्रीय सभापतिमा ‘सम्मानजनक’ मत पाउन सकेनन् । त्यसपछि प्रदेश २ कांग्रेसको कमान्ड हत्याउन जोडबल गरे पनि असफल भएका छन् ।
वडा अधिवेशनमा लगभग देउवातिर गइसकेका रामसरोज यादवलाई फकाएर निधिले प्रदेश सभापतिको उम्मेदवार बनाएका थिए । कांग्रेसका प्रदेश २ मा संसदीय दलका नेता राजसरोज भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् । निधिकै निर्वाचन क्षेत्र धनुषा ३ अन्तर्गत रामसरोजको निर्वाचन क्षेत्र पर्छ ।
स्रोतका अनुसार महाधिवेशनमा सभापतिको दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गर्दा निधिले प्रदेश २ सभापति रामसरोजलाई सहयोग गर्न आग्रह गरेका थिए । मतदानअघि निधिको काठमाडौंस्थित निवासमा भएको देउवा–निधि भेटका बेला रामसरोज पनि उपस्थित थिए । तर रामसरोजबारे केही प्रतिक्रिया नदिई देउवा निधि निवासबाट बाहिरिएका थिए ।
महाधिवेशनको चटारो नसकिँदै प्रदेश २ को चुनावको मिति तोकियो । केन्द्रमा सबै सदस्यको नतिजा नआउँदै निधि फेरि जनकपुर झरे । उनको जनकपुरस्थित मिल्स एरिया निवासमा शेखर कोइराला पक्षको उपस्थिति बाक्लिएपछि प्रदेशमा निधि–कोइराला गठबन्धनको भेद खुल्यो ।
नेता निधि जनकपुर आइपुगेको केही घण्टामै देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई जनकपुर पठाए । निधिलाई कोइराला समूहका गुरुराज घिमिरे, चन्द्र भण्डारी र प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्कीले पनि जनकपुर आएर सहयोग गरे ।
देउवा पक्षबाट गृहमन्त्री खाँड, सहमहामन्त्रीद्वय महेन्द्र यादव र उमाकान्त चौधरी, रामहरि खतिवडा, आनन्दप्रसाद ढुंगाना तथा रमेश रिजालले प्रदेश २ को कमान्ड सम्हाले ।
रामसरोजलाई जिताउन निधिले पुसको जाडोमा पनि अबेर रातिसम्म मतदानस्थलमा उभिएर भोट मागिरहे । प्रदेशमा रामसरोज जिते पार्टीमा आफ्नो शक्ति ‘कमब्याक’ हुने निधिले ठानेका थिए ।
‘निधिले देउवाको साथ छाडेका कारण प्रदेश २ चुनावमा देउवाले आफैं चासो राखे,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘आफ्ना उम्मेदवारले जितिरहेको बेला सर्लक्कै अरुलाई समर्थन गरेनन् ।’
प्रदेश २ का ३२ वटा क्षेत्रमा देउवाका १८, कोइरालाका १० र निधिका ३ जना क्षेत्रीय सभापति निर्वाचित छन् । महोत्तरी ३ मा विवादका कारण चुनाव हुन सकेको छैन । निधि र कोइराला मिल्दा पनि प्रदेश २ मा देउवा समूह नै बलियो देखियो । देउवाले प्रदेश २ को कमान्डका लागि रौतहटका पुराना नेता कृष्णप्रसाद यादवलाई अघि सारेको थियो ।
प्रदेश २ मा यादव समुदायको बाहुल्य छ । दुवै खेमाले प्रदेश सभापतिमा ‘यादव’ प्रयोग गरेका थिए । प्रदेश सभापतिमा कृष्णप्रसाद ९ सय ९६ मत ल्याएर विजयी भए भने निधि–कोइराला प्यानलका उम्मेदवार रामसरोजले ८ सय ५५ मत ल्याए । ३० मत बदर भएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।