काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेर तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।
नियुक्त सबैको शुक्रवार राति शपथ ग्रहण गराइएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई सपथ गराएका हुन् ।
भूमि व्यवस्था सहकारीमन्त्रीमा बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्रीमा दिपेन्द्र श्रेष्ठले सपथ लिएका हुन् ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि सपथ लिएका हुन् ।
राज्यमन्त्रीमा सन्त प्रजा मनोनित भएसँगै पहिलो पटक संसद्मा चेपाङ जातिको प्रतिनिधित्व भएको छ । यसअघि मकवानपुरकै गोविन्द चेपाङ संविधानसभा सदस्य भएका थिए । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । यससँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएका छन् ।