मदन पौडेल ।
यहाँ, जहाँ तहाँ चर्चा तपाईंकै छ
रसिला, सुकिला अकेला चहकिला चम्केकै छन् अबला, निन्याउरा, सर्वहारा खाडीमा हराइरहेछन्
ठीकै छ, हामीलाई गुल्मी, कास्की, गोरखा घुमाउनु भो
घरमै झोंक्रिएका, कठ्याङ्ग्रिएकालाई स्नान गराउनु भो,
अन्धविश्वास र कुरीतिको जरो उखेल्नु भो नातावाद र कृपावादको सातो उडाउनु भो तर र फेरि लेनिनवाद छोडेर लिकिनवादमा फस्नु भो ?
सम्वाददाताहरू भन्दछन्–कार्यकर्तालाई बुझ्नै गाह्रो भो
विद्यार्थीहरु भन्दछन्- इस्टकोट, वेस्टकोट चिन्नै गाह्रो भो
आजकल, तराईका फाँटहरुमा हुस्सु लागिरहेछ
सत्य र असत्य, कथ्य र लेख्य बुझ्नै गाह्रो भो
शिकारीहरु मौसम बेमौसममा पनि जाल फ्याँक्दैछन्
मार्क्सवाद र फेबियनवाद, फायरनाख यौटै हो भन्दछन् ।
लेनिनवाद र लिकिनवाद उस्तै हो भन्दछन् ठिक त्यसैगरी खाओवाद र माओवाद
माउवाद र चल्लावाद, तथ्य र हल्लावादमा केही फरक छैन
चर्खेपिङ, चाउमिन र देङ सियाओ पिङ छक्क परेर हेर्दैछन् ।
अँध्यारा बन्दीगृहहरूमा तमाम यातनाको माउवाद हावी भएछ
साँच्चै नै यो कठ्याङ्ग्रिंदो जाडोले माओवाद बुझ्नै गाह्रो भो
हो, आजकल यहाँ यस्तै छ हजुर !
समय दिनुभयो
कविता पढ्नुभयो, जनताको संविधान नबन्ने भयो,
समय नष्ट भयो हजुर !
०७२–१–२ ।