• असार १८ २०८१, सोमबार

सोलोमनबासी श्राप दिएर रुख सुकाउँछन् !

पुष ९ २०७८, शुक्रबार

दक्षिणी प्रशान्त महासागरस्थित एक देश पपुआ न्युगिनीको पूर्वीभागमा पर्ने सोलोमन द्विपसमूहमा आदिवासी बसोबास गर्दछन् । उनीहरुको आफ्नै भेषभूषा, मूल्यमान्यता र परम्परा रहेको छ । यो उनीहरुको आफ्नो पहिचान पनि हो ।

त्यहाँका मानिसहरु नदीनाला, वनजंगल, वायु, ज्वालामुखी, चटयाङ, समुद्री आँधी, जलचर, थलचर सहितका सबै प्राणी तथा वनस्पतिको पूजा आराधना गर्दछन् । उनीहरु स्वभावैले अन्यत्रका आदिवासी झैं प्रकृति पूजक देखिन्छन् ।

परम्परागत रुपमा सोलोमनवासीहरुले मान्ने सबै कुरा संसारका अरु सबैसँग प्रायः मिल्ने भए पनि उनीहरुले रुख तथा वनस्पतिलाई श्राप दिएर सुकाउने चलन भने अरुसँग मिल्दैन । सोलोमनवासीहरु हरियो वा जीवित रुख काट्दैनन् ।

त्यसैले उनीहरु जुन रुख वा जंगल सुकाउनु पर्ने हो, त्यसको वरिपरि सामूहिक रुपमा जम्मा भएर ती रुख र विरुवालाई केही दिनसम्म निरन्तर गाली गरिरहन्छन् । यसरी हरेक दिन मानिस जम्मा हुने र गाली दिने गरेपछि केही हप्तापछि ती रुख र विरुवा सुकेर मर्छन् ।

सुकेका विरुवा र रुख आआफ्नो कार्य साधनाका लागि ती आदिवासीहरुले काट्छन् र प्रयोगमा ल्याउँछन् । यो उनीहरुको दैनिकी जस्तै हुने र हुँदै आएको कुरा हो । अन्यत्रका मानिसका लागि यो आश्चर्यको कुरा भए पनि सोलोमनवासीका लागि भने नौलो कुरा होइन । यो एक परम्परागत मान्यता हो ।

अहिलेको युग भौतिक तथा विज्ञान र प्रविधिको युग हो । यो बेलामा कसैले दिने गालीले रुख मर्दैन भन्ने विश्वास जब्बर छ । प्रश्न पनि उठ्ने गरेको छ कि ‘अभौतिक’ र ‘अदृष्य’ श्रापले रुख कसरी मर्छ ?

तर सोलोमन द्विपसमूहमा भने रुख र विरुवा यसरी मर्ने गरेका छन् । त्यसो भए के यो कुरा जीव विज्ञानले सही हो भनी स्वीकार गर्न सक्छ ? तर जीव कोषका वैज्ञानिक ब्रुस लिप्टनले यसलाई स्वीकार गर्छन् । भन्छन्, ‘यसरी विरुवा मर्न वा सुक्न संभव छ ।’

उनले लेखेका ‘द बायोलोजी अफ विलिफ’ मा सोलोमन आइल्याण्डको यो परम्पराको उदाहरण दिएर उनी भन्छन्, ‘तपाईहरुले यो कुरामा विश्वासमात्र गर्नु हुँदैन कि बरु आफ्नो प्रियपात्रले आफूलाई गरेको अपमान र गलफत्तिले तपाई आफ्नो जीवन परित्याग गर्ने अवस्थामा पुगिसक्नु भएको हुन्छ ।’

यसलाई पुष्टि गर्नका लागि उनले सिग्मण्ड फ्रायडको अवचेतन र अचेतन मनोविज्ञानको सहारा लिन पुग्छन् । हुन पनि हो, मानिस, अन्य प्राणी र विरुवामा हुने ‘अवचेतन’ र ‘अचेतन’ मन ‘सचेतन’ मनभन्दा करोडौं गुणा शक्तिशाली हुन्छ ।

मानिसमा रहेको विश्वासको पछाडि सचेतन मनको १० प्रतिशत भूमिका हुन्छ भने अवचेतन र अचेतन मनको भूमिका ९० प्रतिशत हुन्छ । सचेतन मन ‘मूल’ वा ‘नदी’ हो भने अवचेतन र अचेतन मन पृथ्वीको ‘अथाह समुद्र’ जस्तै हो । सचेत मन त अवचेतन तथा अचेतन मनको एकअंशमा रहेको छायाँ मात्र हो ।

सचेतन मनले जेसुकै भनोस् तर अचेतन मनले मानिसलाई बिगार्ने र सपार्ने दुवै काम गर्छ । जीवकोष विज्ञ लिप्टनको तर्क छ, सोलोमनबासीले दिनहुँ सामूहिक रुपमा जम्मा भएर दिएको श्राप त्यो विरुवा वा रुखले क्रमशः ग्रहण गर्न थाल्छ ।

सोलोमनवासीहरुले दिएका नकारात्मक, खतरनाक र घातक कुराले रुखको भावनामा गहिरो प्रभाव पार्दै र पकड जमाउँदै जान्छन् । लिप्टन भन्छन्, ‘हो, विरुवामा पनि जीवमा झैं भावना र अनुभूति हुन्छ ।’ नकारात्मक कुराले नकारात्मक मनोविज्ञान पैदा गर्छ । यसबाट विरुवाभित्र हानीकारक अणु वा कोषिका निर्माण हुनगै विरुवाको जीवन समाप्त पारिदिन्छ । यो जीव विज्ञानले पुष्टि गरेको कुरा हो ।

२५०० वर्ष अगाडि गौतम बुद्धले भनेको कुरा पनि यही हो कि ‘तिमीले जस्तो सोच्छौं, तिमी त्यस्तै हुन्छौ ।’ यो त बुद्धको जीवन दर्शन हो, मजाकको कुरा होइन । यो क्वान्टम थ्यौरीले पुष्टि गरेको कुरा हो । यो आणविक जीवविज्ञानले पुष्टि गरेको तथ्य पनि हो ।

बाबुआमाले आफ्ना छोराछोरीलाई जे हुन भनिरहेका हुन्छन्, छोराछोरी त्यही नै बन्छन् । छोराछोरीलाई गाली गरिहरह्यो भने उनीहरु विकृत मानसिकताका हुन्छन् र जीवन समाप्त गरिदिन पनि सक्छन् ।
त्यसैले आफू र समस्त मानव जगतलाई स्वस्थ, स्वच्छ, खुशी र समृद्ध भैरहन सुवाच्य बोलिरहौं ।