जाडो मौसममा नेपालको तराइ भागमा शीत लहरको समस्या निकै बढेर जान्छ । पहिले सिमित इलाकामा चल्ने शीत लहर अहिले ठूला क्षेत्र र इलामा एकै पटक आउने र फैलने गरिरहेको छ । यसले धनजनको ठूलो क्षति पुर्याउँदै आएको पनि छ ।
नेपालको तराइ क्षेत्रका रौतहट, बारा, सर्लाही, महोत्तरी, धनुषा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, देउखुरी, बाँके, बर्दिया, कैलाली र कन्चनपुर लगायतका क्षेत्रमा शीत लहरले हरेक वर्ष क्षति पुर्याउँदै आएको छ । यी सबै जिल्लाहरुमा पौष महिनाको सुरुआतसँगै अत्यधिक चिसो बढ्दै गैरहेको छ ।
यी जिल्लाहरुमा बिहानदेखि दिउँसो १२.०० बजेसम्म बाक्लो हुस्सुले ढाक्ने गरेको छ । जसका कारण तापक्रम घटेर निकै चीसो हुने गरिरहेको छ । यसले अबका केही दिनमा शीतलहर ल्याउने अनुमान पनि गरिन थालिएको छ ।
काठमाडौंमा साँझ र बिहान निकै ठिहिराउने जाडो बढ्दै गएको छ । यसले गर्दा पहाड तथा तराइमा जनजीवन निकै प्रभावित हुँदै गैरहेको छ । न्यानो कपडा र आगो ताप्ने व्यवस्था र चिसो छल्ने घरहरु सबैका लागि पर्याप्त छैनन् ।
गरीब तथा बिपन्न परिवार यसैको मारमा परिरहेका छन् । दिनमा पनि शरीर तातिन नपाउँदा उनीहरु थरथरी काँपिरहेको आफ्नै आँखाले देखिरहेका छौं । जिल्ला जिल्लामा दैवी प्रकोप उद्दार समितिहरु छन् । तर तिनीहरुले प्रभावकारी राहतको कार्यक्रम बनाउन सकिरहेका छैनन् ।
पछिल्लो समयमा जलवायु परिवर्तनको असरसँगै कतिबेला गर्मी, कति बेला बर्षा र कहिले जाडो सुरु हुने पनि भन्न नसकिने अवस्था छ । बेमौसमी वर्षाले सताउने नेपालमा शीत लहर पनि कुन बेला सुरु हुन्छ भन्न सकिने अवस्था छैन । जाडो र शीत लहरले सबैभन्दा बढी गरीब, असहाय, महिला, बृद्धबृद्धा र बालबालिका प्रभावित हुने गरेका छन् ।
यो बेलामा परिवारको आफ्नो गच्छेअनुसार न्याना कपडा, सन्तुलित आहार, बस्ने न्याना कोठा र ताप्नका लागि कोइलाको व्यवस्था गरिइनु पर्छ । कतिपय विपन्न परिवारका लागि तीनै तहका सरकारले उचित राहतको व्यवस्था गरिदिनु जरुरी हुन आएको छ ।
यसका साथै सम्पन्नहरुले पनि धेरै कुरामा ध्यान दिनु जरुरी हुन आएको छ । चिसो बढेसँगै ग्यास, गिजरको प्रयोग यस्ता सम्पन्न परिवारमा बढी हुने गरेको छ । गिजरमा तातोपानीले नुहाउँदा ठण्डी मौसममा केहीको बाथरुममा मृत्यु हुने गरेको छ । कसैको न्यानो कोठामा अक्सिजन छिर्ने प्वाल वा भेन्टिलेटरसम्म नहुँदा तातोसँगै निसास्एिर मृत्यु हुने गरेको छ ।
यस्तो बेलामा सरकारका तर्फबाट सचेतनाका कार्यक्रमहरुसँगै राहतका प्याकेजहरु पनि गरिब र विपन्नका बीचमा पुर्याइनु पर्छ । यता सरकारले बजेट खर्च गर्न नसकिरहेको समाचार आइरहने तर उता भने गरीब र विपन्न जाडोले कठ्याङ्ग्रिएर मर्नु पर्ने यस्तो विरोधाभाषपूर्ण अवस्थाको अन्त्य गरिनु जरुरी हुन आएको छ ।