जनकपुर । प्रदेश नं २ को नामकरणका लागि प्रदेशसभा बैठकमा पाँच प्रस्ताव पेश गरिएको छ ।
आज बसेको प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि विभिन्न पाँच वटा प्रस्ताव पेश भएको हुन् ।
बैठकमा सत्तारुढ जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रकुमार यादव र नेकपा माओवादी केन्द्रका भरत साहले प्रदेश नं २ को नाम ‘मधेश प्रदेश’ राख्नुपर्ने प्रस्ताव गर्दा प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसलाई समर्थन गरेको छ ।
बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका प्रमोदकुमार यादवले प्रदेशको नाम ‘जानकी प्रदेश’ राख्नुपर्ने प्रस्ताव गर्दा अर्का सत्तारुढ दल नेपाली कांग्रेसका शिवचन्द्र चौधरीले ‘मिथिला भोजपुरा प्रदेश’ नामको प्रस्ताव पेश गरेका छन् ।
कांग्रेसकै राजेश्वरप्रसाद साहले भने ‘मध्य मधेश प्रदेश’ नामको प्रस्ताव गरेका छन् । नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामकरणको प्रस्ताव भने आज पेश हुन सकेको छैन । नामकरण सम्बन्धी पेश भएको प्रस्तातमाथि प्रदेशसभा बैठकमा छलफल जारी छ । बैठकमा प्रदेशको राजधानी तोक्ने प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ भने अघिल्लो बैठकमा प्रस्तुत प्रदेश कृषि विश्वविद्यालय २०७८ माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।