कोइलावासकै उजाड नरमाइलो बस्ती भएर
खोप्राहरू लछारिएका छन् र पाछिएका छन्
परिचित भवनका दलिनहरू सड्दै मक्किन थालेका छन्
झन्डामा छेर्न थालेका छन् माकुराहरूले
र, भान्छामा रगरगाउन थालेका छन् छेपाराहरू
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ
दाम्लो छिनाल्दै गाईहरू भाग्न थालेका छन्
र, गोठमा अर्नाहरू एकत्रित भएका छन् ।
एउटा घेरामा भने हरपल व्यञ्जन वर्षिरहेको छ
अर्को घेरामा भने उही पुरानो ताप्केमा
घुन मिसिएको पिठो पानीभित्र छड्ड्करहेको छ
गाउँमा झिना औँलाहरूले फापरको सागलाई चिमोटिरहेका छन्
सहरभित्र अवतरित औँलाहरू दिनप्रतिदिन मोटाइरहेका छन्
र, चाँदीको चम्चाले पाक्दै गरेको च्याउलाई चलाएर जाँचिरहेका छन्
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ
कमिलाहरू मर्न थालेका छन् र अजिङ्गरहरू
महोत्सव मनाउने तयारीमा आराम गृहमा फरमाइरहेका छन् ।
भीरहरू खोजिरहेका छन् जोन अफ आर्कलाई
र, नदीमा मिसिएका कुलाका पानीहरूले
कामै नलाग्ने बनाएका छन् नेत्र अभागीका कविताहरूलाई
बतासका ओढ्रूले गुट्मुट्याएका छन् खुसी ग्रेहरूलाई
र बेपत्ताको पोकोलाई अबिरको पहिरोले थिचेको छ ।
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ
ऋषेश्वरको इतिहासमा आगो लाग्न थालेको छ
र, एक धुर मात्र जमिन जित्ने सिकन्दरका दम्भहरूले
सगरमाथाकै चुचुरो चढेको घोषणा गरिरहेका छन् ।
चिप्ले किराहरूले हरेकलाई
चिप्लेकिराकै जुनीमा आबद्ध हुन सनासो बोक्न धम्क्याइरहेका छन्
नमान्नेलाई दुम्सीको काँडाले घोचिदिने आतसबाजी उडाइरहेका छन्
मुर्दाहरू नै मुर्दाको मलामी गइरहेको यस्तो दृष्य कहिल्यै देखिएन
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ
कृत्रिम फूलहरू नयाँ कोट लगाउनेहरूले आफ्नो कोटमा घुसारेका छन्
र, दमनाहरू नौलो दमनको अदृष्य पाङ्ग्रोमा किचिएका छन् ।
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ
यो तातो अलकत्रा भन्दा पनि तातो
मनहरू पोल्ने आगोको भट्टी जस्तो छ
जाकेरीहरूले पाएका छन् भीसी तक्माहरू
र, वीर सिपाहीहरूको रोदनले वातावरणहरू भरिभराउ भएका झन्
भैँसीको टाउको शरीरमा झुन्ड्याउनेहरूलाई
अलपत्रमा परेको युद्धको नतिजा राम्रो छ
मानिसको नै टाउको बोकेर विचरण गर्न चाहनेलाई
यो हेमलकभन्दा पनि एकदमै विषाक्त छ
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ ।
(फिल्को स्मारिकाबाट ।)