• असार २३ २०८१, शनिबार

कस्तो गजब ! वर्षातले धानबाली नष्ट गर्यो : सरकारी तथ्यांकमा धान उत्पादन बढेको रिपोर्ट आयो

पुष ८ २०७८, बिहीबार

दाङ, ८ पुस ।
धान काट्ने तयारीमा रहेका बेला डुबानमा परेर धान कामै नलाग्ने भएका कारण किसानहरु खिन्न भइरहेका बेला कृषि ज्ञान केन्द्र दाङले भने धान उत्पादनमा बृद्धि भएको जनाएको छ । कार्यालयको तथ्यांकले गत वर्ष भन्दा यो वर्ष धान उत्पादन बढेको देखाएको छ तर, यथार्थमा यस्तो अवस्था नभएको कृषकहरु बताउँछन् ।

कार्यालयले तयार पारेको तथ्यांकमा त डुबानमा परेर संकलन नै नगरिएको धानलाई उत्पादनमा जोडिएको छ । बेमौसमी वर्षातका कारण एक गेडा पनि धान स्याहार्न नपाएका किसानहरुलाई पनि यो तथ्यांकले झुक्याउने किसानहरुको अभिव्यक्ति छ । किन कि पानीमा बगेको धानलाई जोडेर उत्पादनमा बृद्धि भन्नु हास्यास्पद भएको किसानहरुले बताएका छन् ।

धान उत्पादन बृद्धिको तथ्यांक जतिबेला सत्य हुन्छ, त्यो बेला किसानले यथार्थमा धान स्याहारी सकेका हुन्छन् तर, कार्यालयले भने खेतमा सडेर कामै नलाग्ने धानलाई पनि जोडेर धानको उत्पादनमा बृद्धि भएको भनेको छ । यदि नपसाउँदै धान बाढीले बगाएको भए पनि कार्यालयले यसलाई धान उत्पादनमा बृद्धि भनेर कृषि तथ्यांकको उपहास गर्ने किसानहरुको भनाई रहेको छ ।

कृषिले तथ्यांक दिँदा डुबानमा नपरेको भए उत्पादन बढी हुने थियो भनेर तथ्यांक दिनुपर्ने किसानहरुले बताएका छन् । जिल्लामा गत वर्षभन्दा यस वर्ष धान उत्पादन बृद्धि भएको छ । धानखेती हुने क्षेत्रफलमा वृद्धि तथा समयमा नै वर्षात् भएको कारण धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जिल्लामा यस वर्ष १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए ।

गत वर्ष दाङमा १ लाख ६७ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्ष जिल्लामा धानखेती ३९ हजार हेक्टरमा गरिएको थियो भने यस वर्ष ३९ हजार ४ सय हेक्टरमा धान खेती गरिएको अर्थविज्ञ लामिछानेले बताए । खेती गर्ने क्षेत्रफलसँगै उत्पादन समेत बढेको लामिछाने बताउँछन् । “यस वर्ष समयमा वर्षात् हुनु, क्षेत्रफल बृद्धि हुनुका कारणले पनि उत्पादन वृद्धि भएको हो” लामिछानेले भने ।
कोभिडको कारण धेरैले रोजगार गुमाएको र धेरै नागरिक घरमै बसेका कारण पनि खेती गरेका हुन् ।

अघिल्ला वर्षहरुमा बाँझो रहने जग्गामा पनि कोभिडपछि खेती गर्न थालिएको छ । जिल्लामा पछिल्लो समयमा कृषकहरुले हाइव्रेड धान खेती गर्न थालेका छन् । यसले पनि उत्पादनमा वृद्धि भएको कृषिका जानकारहरु बताउँछन् । पछिल्लो समय कृषकहरुले स्थानीय धानभन्दा पनि हाइव्रीड जातको धान लगाउने गरेका छन् । थोरै क्षेत्रफलमा धेरै उत्पादन लिन सकिने भएकाले हाइव्रीड धान लगाउने गरेको कृषकहरु बताउँछन् ।

जिल्लामा पछिल्लो समय सिचाईको सुविधा विस्तार हुँदै जानुको कारण पनि उत्पादनमा सहयोग पुगेको ज्ञान केन्द्रले जनाएको छ । समयमा कृषकको लागि मल, बीऊ र सिचाईको राम्रो व्यवस्था भएमा उत्पादन बढाउन मद्दत मिल्ने समेत बताइएको छ । बेमौसमी वर्षातले दाङमा लगाइएको २७ हजार ६ सय ६८ मेट्रिक टन धानमा क्षति पुगेको छ । जिल्लाका १० वटा स्थानीय तहहरुबाट संकलन गरेको तथ्यांक अनुसार उक्त मात्रामा धानमा क्षति पुगेको कृषि अर्थविज्ञ लामिछानेले बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार काटिएको धान ४ सय ७८ हेक्टर धान बगाएको थियो भने ८ हजार ५ सय २१ हेक्टर धान ढालेर क्षति पुर्याएको ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका अनुसार बबई गाउँपालिकामा ५ सय २ दशमलव ५ हेक्टर धानमा क्षति पुर्याएको थियो । उक्त क्षेत्रमा २ हजार १ सय २८ हेक्टरमा धान खेती गरिएकोमा १ सय ४० हेक्टर काटेको धान बगाएको थियो भने ३ सय ६२ दशमलव ५ हेक्टर ढालेर क्षति पुर्याएको हो ।

शान्तिनगर गाउँपालिकामा ७ सय ६१.३ हेक्टर धानमा क्षति पुर्याएको थियो । उक्त गाउँपालिकामा २ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७ सय ६१ दशमलव ३२ हेक्टर जमिनमा पानीका कारण धान ढलेर क्षति पुगेको हो । उता दंशीशरण गाउँपालिकामा १ हजार १ सय २३ दशमलव ५ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा ४ हजार ३ सय १० हेक्टरमा धानखेती गरिएको थियो । जसमा ७ दशमलव ५ हेक्टरमा काटेको धान बगाएको थियो भने १ हजार १ सय १६ हेक्टरमा धान ढालेर क्षति पुर्याएको थियो ।

यसैगरेर तुलसीपुर उपमहानगरपालिकामा २ सय ७५ हेक्टरमा क्षति पुगेको थियो । उक्त उपमहानगरपालिकामा ६ हजार ८ सय ४० हेक्टरमा धानखेती गरिएको थियो । जसमा २ सय ७५ हेक्टरमा धान ढलेर क्षति पुगेको होे । घोराही उपमहानगरपालिकामा १ हजार ९ सय ५८ दशमलव ८ हेक्टरमा क्षति पुगेको थियो । घोराहीमा ८ हजार ३ सय २० हेक्टरमा खेती गरिएको थियो । जसमा १ हजार ९ सय ५८ दशमलव ८ हेक्टरमा धान ढलेर क्षति पुगेको हो ।

त्यस्तै बंगलाचुली गाउँपालिकामा १ हजार ७९ हेक्टरमा धान क्षति पुगेको थियो । उक्त पालिकामा १ हजार ७ सय ३० हेक्टरमा धानखेती गरिएको थियो । जसमा १ हजार ७९ हेक्टरमा लगाइएको धान ढलेर क्षति भएको हो । लमही नगरपालिकामा १ हजार ४ सय ३२ हेक्टरमा धान क्षति पुगेको छ । उक्त नगरपालिकामा २ हजार ७ सय ३५ हेक्टरमा धानखेती गरिएको थियो । जसमा १ हजार ४ सय ३२ हेक्टरमा धान ढालेर क्षति भएको हो ।

त्यसैगरेर राप्ती गाउँपालिका ७१ दशमलव ८ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा ६ हजार ७ सय १४ हेक्टरमा धानखेती गरिएको थियो । जसमा ७१ दशमलव ८ हेक्टरमा धान ढालेर क्षति पुगेको हो । गढवा गाउँपालिकामा ९ सय १९ दशमलव ७ हेक्टरमा क्षति पुगेको थियो ।

उक्त गाउँपालिकामा २ हजार १ सय ७५ हेक्टरमा धानखेती गरिएकोमा १ सय ११ दशमलव ६७ हेक्टरमा लगाएको धान बगाएर क्षति पुर्याएको थियो भने ८ सय ८ हेक्टरमा लगाएको धान ढालेर क्षति पुगेको थियो । राजपुर गाउँपालिकामा ८ सय ७५ दशमलव ३ हेक्टरमा क्षति पुगेको थियो ।

उक्त गाउँपालिकामा १ हजार ७ सय १८ हेक्टरमा धानखेती गरिएकोमा २ सय १८ दशमलव ६८ हेक्टरमा काटेको धान बगाएर क्षति पुगेको हो । ६ सय ५६ दशमलव ५९ हेक्टरमा लगाएको धान ढलेर क्षति पुर्याएको हो ।