• मंसिर ११ २०८१, मंगलवार

पुस्तान्तरण र राजनीतिको भविष्य

पुष ८ २०७८, बिहीबार

पुरानो पुस्ता राजनीतिक छक्का पञ्जामा पारंगत छ, तर देशको विकास र जनताको हितको निम्ति पारंगत छैन भन्ने कुरा लोकतन्त्रको १३ वर्षे कार्यकालले नै प्रमाणित गरिदिएको छ । विकास र समृद्धि नारामा होइन, अनुभूतिमा हुनुपर्दछ ।

ऊर्जाशील युवा सत्तामा पुगे मुलुकलाई गतिशील बनाउँछन् भन्ने जनताको आशा नेपाली कांग्रेसको हालको महाधिवेशनले सम्बोधन गर्ने संकेत दिए पनि नेकपा एमालेको पछिल्लो महाधिवेशन परिणामले भने निराशामा परिणत गराएको देखियो ।

मुलुकमा लोकतन्त्र स्थापित भए पनि लोकतान्त्रिक व्यवहार स्थापित हुन सकेको छैन । राजनीतिक अगुवाहरूकै गैरलोकतान्त्रिक व्यवहारको नकारात्मक असरबाट अझै समाज माथि उठ्न सकेको छैन ।
कार्यशैली र व्यवहारै गलत हुँदा जो सत्तामा पुगे पनि सत्ता परिवर्तनले जनतामा उत्साह ल्याउन सकेको छैन । नेताको सङ्कुचित मानसिकताले व्यक्तिकै हक अधिकार कुण्ठित गराइरहेको छ ।

युवा राजनीतिज्ञ पनि शीर्षस्थ नेताको प्रभावमै रुमलिँदै आएको कारण उनीहरूको उदय हुन सकेको छैन । अहिलेका युवा राजनीतिज्ञ राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीतिका जानकार नभएका होइनन् ।
यिनै जानकार युवाले शताब्दी पहिलेकै राजनीतिक सिद्धान्त अँगाल्दै आएका नेतालाई नै पछ्याइरहने कि समयसापेक्ष नवीन राजनीतिक सिद्धान्त प्रतिपादन गर्ने ? यो युवा राजनीतिज्ञले सोच्ने संवेदनशील विषय हो ।

शताब्दीऔँ अगाडि सफल बनेको राजनीतिक सिद्धान्त अहिले पनि सफलै हुन्छ भन्ने हुँदैन । सामाजिक परिवर्तन, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मूल्य मान्यता तथा जनताको चाहना मुताबिकको परिवर्तित राज्य सञ्चालन नीति अहिलेको मुख्य आवश्यकता हो भन्ने कुरा युवा राजनीतिज्ञले बुझ्नुपर्दछ ।

परम्परागत मान्यता त्याग्न नसक्नु, सिद्धान्तलाई भन्दा व्यक्तिको व्यवहार र स्वेच्छाचारितामै परिचालित हुनु तथा स्वतन्त्र रूपमा आफ्नै खुट्टामा उभिने साहस नगर्नु युवाको कमजोरी हो ।

यति मात्र होइन, शीर्षस्थ नेताले युवा राजनीतिज्ञलाई पछिल्लो समयमा औजार बनाउँदै ल्याएका छन् । युवाको सिर्जनशील प्रतिभा र वैचारिक स्वतन्त्रता नै कुण्ठित पारी शीर्षस्थ नेताले आफ्नै पछि लाग्न बाध्य बनाएका छन् ।

युवा मानसिकता पनि शीर्षस्थ नेताविरुद्ध देखिँदैन । यसो हुनुको कारण पनि प्राप्त भएको सम्मान र प्रतिष्ठामै असर पुग्ला कि भन्ने युवा दृष्टिकोण नै हो ।

अन्यथा, युवाले आफ्नै नवीनतम सिद्धान्त प्रतिपादन गरी अगाडि बढे शीर्षस्थ नेताले रोक्न सक्दैनन् । शीर्षस्थ नेतालाई नीतिगत रूपमै युवाले चुनौती दिन सक्छन् ।
अहिलेका युवा राजनीतिज्ञको अवस्था कस्तो छ ? भन्ने कुरा बुझ्न दलहरूको हालै सम्पन्न भएकै महाधिवेशनको दृष्टान्तले पुष्टि गर्दछ ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको दसौँ महाधिवेशन, राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन र नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा युवा राजनीतिज्ञको अवस्था कस्तो रह्यो भन्ने कुरा सर्वसाधारणले नै महसुस गरिसकेका छन् ।

यसमध्ये नेपाली कांग्रेसका केही आशलाग्दा युवा नेता सङ्कुचित मानसिकताका शीर्षस्थ नेताको बन्धन तोडी आफ्नो हैसियत र क्षमता प्रदर्शित गराउन सफल बने त्यो सबैको निम्ति प्रेरणादायी छ ।
कांग्रेसको पछिल्लो महाधिवेशनले पुस्तान्तरणको आभास दिलाएको छ । अन्य पार्टीमा भने पुस्तान्तरण कल्पनामा सीमित छ । नेकपा एमालेको हकमा सिँगो पार्टीपंक्ति नै एकल हैकमवादमा सञ्चालित हुँदै आएकाले युवा स्वतन्त्रता पार्टी अध्यक्षकै खल्तीमा पुगेको प्रमाणित भएको छ । राप्रपाको महाधिवेशनले पनि केही आशा जगाएको छ ।

वास्तवमा पार्टीभित्रका विकृति र विसङ्गति हटाई स्वच्छ पारदर्शी एवम् तन्दुरुस्त बनाउने शल्यचिकित्सक भनेकै महाधिवेशन हो । दल आफैँमा अस्वस्थ हुँदैन ।

सङ्क्रमण ग्रसित नेताले नै दललाई अस्वस्थ बनाउँदै ल्याएका हुन् । विकृत मानसिकताका व्यक्ति हटाई स्वस्थ, स्वच्छ र क्षमतावान् व्यक्तिलाई पार्टीमा जिम्मेवारी प्रदान गर्ने दायित्व महाधिवेशनकै हो ।
सङ्कुचित एवम् यथास्थितिवादी सङ्कीर्ण नेतालाई जिम्मेवारीबाट मुक्त गराई युवालाई अगाडि बढाउने हो भने देशमा परिवर्तनको अनुभूति हुन सक्छ ।

भनाइ एक व्यवहार अर्को गर्ने शीर्षस्थ नेताहरू यथावस्थामा प्रतिस्थापित भैरहेसम्म मुलुकमा अनुभूतिजन्य परिवर्तन आउँदैन । अहिले यही भइरहेको छ ।

युवा राजनीतिज्ञ शीर्षस्थ नेताकै लाचार छायाँ बनिदिँदा उल्टै सङ्कीर्ण नेतालाई उत्साह प्रदान भएको छ । उनीहरूको दुर्गन्ध युवाले ढाकछोप गरिरहेका छन् ।

यो पृष्ठभूमिमा नेता आफू अझै शक्तिशाली भएको ठान्दै छन् । लोकतन्त्रको आधारभूत तत्व मानिने वैचारिक विभेदउपर बहस, चर्चा परिचर्चा तथा पारस्परिक विचार विमर्शबाट ठोस निर्णयमा पुगी कार्यान्वयन गराउने दायित्व नेतृत्व तहमै सीमित भए लोकतन्त्र नाम मात्रमा सीमित रहन्छ ।

लोकतन्त्रमा जोसुकैले पनि आफ्नो विचार राख्न पाउनुपर्दछ । व्यक्त गरेको कुराकै आधारमा व्यक्ति हेय बन्दैन । व्यक्तिको विचार दलको सिद्धान्त विपरीतै भए पनि त्यसलाई अझ गम्भीरताका साथ लिनुपर्दछ ।
किन कि, एउटै व्यक्तिको विचार पनि सबैको निम्ति अनुशरण लायक हुनसक्छ भन्ने कुरा सबैले महसुस गरी निर्णयमा पुग्ने प्रचलन नै सर्वोत्तम लोकतान्त्रिक प्रक्रिया हो । फरक दृष्टिकोण बीचकै मन्थनले पार्टीलाई रूपान्तरित गर्दै ल्याइए मात्र राजनीति समसामयिक हुन्छ भन्ने कुरामा शीर्षस्थ नेताहरू गम्भीर बन्न जरुरी छ ।

युवा नेताहरू अझै पनि आफ्नो विद्यमान अवस्था नेतृत्वकै निगाहमा आधारित हो भन्ने मानसिकता राख्छन् । बिरलै युवाले मात्र आफू सक्षम भएकै कारण यो ठाउँमा आइपुगे ठानेका छन् ।
तर विशेष क्षमता र राजनीतिक योगदान बेगर कसैले पनि माथिल्लो स्थान प्राप्त गर्न र चर्चित बन्न सक्दैन भन्ने कुरा सबैले नबुझेका छैनन् । यसैले युवाले आत्मनिर्भर बनि रचनात्मक कार्यमा निरन्तर समर्पित बनेर आफ्नो पद र प्रतिष्ठाको सम्मान गराउँदै अगाडि बढे शीर्षस्थान नेताको पछि लागिरहनु पर्दैन ।

पछिल्लो समयमा युवाहरू केही सक्रिय भए पनि शीर्षस्थ नेताको पकडबाट पूर्ण रूपमा बाहिरिन सकेका छैनन् । जेष्ठलाई सम्मान गर्नुपर्दछ उनीहरूको योगदानको कदर गर्नुपर्छ र उनीहरूबाट प्रेरणा लिएरै आफैँ सशक्त ढंगले अगाडि बढे युवाले विद्यमान राजनैतिक विकृति निर्मूल गरी देश विकास गर्न सक्छन् ।

हाम्रो राजनीति स्वार्थमा केन्द्रित भएको र स्वार्थ पनि सामूहिक हितमा होइन, आफ्नै व्यक्तिगत हित लक्षित छ भन्ने कुरा सबैले बुझेका छन् । अहिलेको राजनीति सेवाभन्दा आर्जनको पेसा बन्दै आएको छ ।
शीर्षस्थ नेताले पनि यही प्रवृत्तिलाई प्रश्रय दिँदै आएका छन् । त्यसैले सर्वप्रथम त युवा राजनीतिकर्मीले शीर्षस्थ नेताकै संकुचित मानसिकताको नक्कल नगरी आफ्नै स्वच्छ व्यवहार प्रदर्शित गरे, व्यक्तिगत होइन आमनागरिककै स्वार्थमा समर्पित बने ।

राजनीतिलाई आर्जनको पेसा होइन सेवा ठाने तथा इमानदारिताका साथ कार्य गरी अगाडि बढ्ने हो भने युवाको अगुवाइमा देश गतिशील बन्छ । यसको निम्ति युवा राजनीतिज्ञले आम सर्वसाधारण युवाकै विश्वास जित्न भने अनिवार्य छ ।

राजनीतिमा आवद्ध व्यक्ति को कस्तो छ ? कसको दृष्टिकोण ठीक कसको बेठीक, कुन व्यक्तिको कार्यशैली र व्यवहार उचित छ ? सार्वजनिक हित र भलाइको निम्ति कसले उल्लेख्य कार्य गर्छ भन्ने कुरा अहिलेका सम्पूर्ण युवा सुमदायले नै मूल्यांकन गर्दै आएका छन् ।

युवाको दृष्टिकोणले आमनागरिककै दृष्टिकोण समेट्ने भएकोले सर्वसाधारण युवालाई प्रभावित नबनाई कुनै पनि युवा नेतृत्वले आफ्नो राजनैतिक भविष्य स्थिर र दीर्घकालीन बनाउन सक्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

युवाले चाहे नहुने केही छैन । अहिलेका कर्मशील लाखौँ युवाहरू मुलुककै संकुचित राजनीतिकै कारण विदेशिएका छन् । मुलुकको राजनीति स्वार्थको परिधिबाट माथि उठी व्यवहारिक रूपमै विकास र समृद्धिमा केन्द्रित हुने हो भने युवाले विदेशिनु पर्दैन ।

कृषिप्रधान देश मानिँदै आएको हाम्रो मुलुक अहिले खाद्यान्नकै निम्ति परनिर्भर बन्नुपरेको छ । भएका उद्योग कलकारखाना व्यवस्थित नगरिँदा बन्द हुँदै आएका छन् ।
नयाँ उद्योग कलकारखाना खोली रोजगारीको सुविधा प्रदान गराउने कार्यमा राष्ट्रिय राजनीति केन्द्रित हुन सकेको छैन । विकास निर्माणका कार्यमा क्षमतावान र इमानदार व्यक्तिले भन्दा कमिसनखोर, दुई नम्बरिया व्यक्तिकै बोलबाला रहँदै आएको छ ।

राजनीतिक नेताहरूले नै त्यस्तो व्यक्तिलाई जिम्मेवारी दिएर लाभ लिँदैछन् । राजनैतिक आश्रयका कारिन्दाको मनोबल यति बढेको छ कि उनीहरू आफूलाई कानुनभन्दा माथिको ठान्छन् । निर्धारित समयमा पूरा गर्नुपर्ने निर्माण कार्य वर्षैसम्म अलपत्र पारी बजेटको दोहन गरिरहेका छन् ।
यस्ता व्यक्तिलाई नै नेताले उल्टै सम्मान गर्दछन् । त्यही कार्य गर्न सक्ने युवा जनशक्ति बेरोजगार बनिरहेको छ । रोजगारी प्रदान गर्न नेताले ध्यान दिएका छैनन् । यस प्रकारको लाभमुखी राजनीति युवा राजनीतिक शक्तिले मुलुकबाटै निर्मूल गर्नुपर्दछ ।

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्दछ । नामले चर्चित बनेको व्यक्तिको कार्यशैली उत्कृष्ट हुन्छ भन्ने हुँदैन । नामसँग जोडेर होइन कार्यशैली र इमानदारिता हेरेर व्यक्तिलाई जिम्मेवारी प्रदान गर्न युवा राजनीतिज्ञ जतिकै सर्वसाधारण नागरिक पनि सचेत बन्नुपर्दछ ।
पछिल्लो समयमा नाम चलेकै व्यक्ति पनि नकारात्मक कार्यशैलीको कारण आलोचित बन्न पुगेको दृष्टान्त हामीसँग छ । युवा राजनीतिकर्मीले त त्यस्तो व्यक्तिको सहकार्यको सारथी बन्दै आउँदा त्यसको नकारात्मक असर भोग्नुपरेको अनुभूति गर्दै छन् ।

गलत कार्यशैलीले व्यक्तिलाई नै पछाडि धकेल्ने हुँदा त्यस्तो व्यक्तिले मुलुकलाई अगाडि बढाउँदैन भन्ने कुरामा हामी विश्वस्त हुनुपर्दछ । तर यही अवस्थामा सुधार ल्याउनु युवाकै व्यवहार र कार्यशैली अनुकरणीय हुनुपर्दछ ।

उत्तम व्यवहार र उत्तम कार्यशैली त व्यक्तिमा निहित विशिष्ट गुण हो जसले सबैलाई आफूप्रति आकर्षित गराउँछ भन्ने कुरालाई युवाले भुल्नु हुँदैन ।