• असार १६ २०८१, शनिबार

पाइन्ट लगाउँदा स्मार्ट देखिए छात्रा !

पुष ८ २०७८, बिहीबार

काठमाडौं । दक्षिणी भारतका छात्राहरुले पाइन्ट र सर्ट लगाउन पाउँदा आफूहरु ‘स्मार्ट देखिएको’ भन्दै निकै प्रशन्नता व्यक्त गरिरहेका छन् । यद्यपि यसले त्यहाँको समाजमा केही विवाद भने निम्त्याएको छ ।

केरलास्थित एक सरकारी विद्यालयमा किशोरावस्थाका छात्राले सर्ट पाइन्ट लगाएपछि यसका बारेमा अनेकौं टिकाटिप्पणी हुने गरेको छ । केही नकारात्मक टिप्पणी आए पनि अधिकांश टिप्पणी भने सकारात्मक र प्रेरणादायी छन् ।

पोशाक विवाद रहिरहेकै बेलामा विद्यार्थीहरुलाई बाटो या सडकमा पनि यस्ता टिप्पणी हुने गरिरहेका छन् । तर अधिकांश टिप्पणी उनीहरुको पोशाक समयानुकूल भएको र निकै स्मार्ट देखिएको भनेर हुने गरिरहेका छन् ।

केरलाको बालुस्सेरीस्थित गभर्मेन्ट गर्ल्स हाइयर सेकेन्डरी स्कूलमा कक्षा ११ मा अध्ययनरत छात्राहरुका लागि यो पोशाक सिफरीश गरिएको थियो । पोशाकमा किशोरी विद्यार्थीहरु छिटो र छरितो तरिकाले आफ्ना अध्ययनका काम अघि बढाइरहेका देखिएका छन् ।

अहिलेसम्म किशोरी छात्राका लागि परम्परागत रुपमा लगाउँदै आएको लामो कुर्ता र वेस्टकोट नै पोशाक तोकिएको थियो । यसले पोशाकमै पनि केटा र केटी प्रष्ट रुपमा चिनाउने गरेको थियो ।

तर अहिले किशोरीहरुले पनि शर्ट र पाइन्ट लगाउन पाएपछि केटा र केटीको पोशाकमा विभेद नभएको छात्राहरुको बुझाइ छ । यसले उनीहरुमा स्वाभिमान र स्फूर्ति ल्याएको छ ।

उक्त विद्यालयमा छात्राहरुले केही वर्ष अघिदेखि नै छात्रहरुको झैं पोसाक लगाउन अनुमति दिन आग्रह गरिरहेका थिए । यो वर्ष उक्त पोशाक लगाउन अनुमति दिएपछि स्कूलकी प्रधानाध्यापक पनि निकै खुशी छिन् ।

प्रधानाध्यापक भन्छिन् : ‘हाम्रो विद्यालय बाहिर विश्वका अन्य स्थानका जस्तै हाम्रा किशोरीहरुले पनि सर्ट र पाइन्ट लगाउन पाए । बाहिरका विद्यार्थीहरुले त जिन्स र टप नै लगाएर पनि स्कूल ज्वाइन गरिरहेका देखिन्छन् ।’

त्यसो त केरला राज्य आफैमा उष्ण मौसम प्रदेशमा पर्ने भएकाले पनि ती प्रिन्सिपलका अनुसार किशोरी छात्राहरुका लागि वेस्टकोटको जरुरी थिएन । शिक्षक, विद्यार्थी, कर्मचारी एवम् अभिभावकसँगको आपसी सरसल्लाह र समझदारीमा उक्त पोशाक लगाउन अनुमति दिइएको थियो ।
(एजेन्सीको सहयोगमा)