डाह वा इर्ष्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रुपमा विद्यमान हुने गर्छ । फरक यति हो, कुनै व्यक्तिमा यो भावना निकै बढी हुन्छ भने कुनै व्यक्तिमा अलि कम हन्छ ।
कतिपयले यस्तो भावनालाई आफुभित्र लुकाएर राख्ने प्रयास गर्छन् भने अधिकांशले प्रत्यक्ष परोक्षरुपमा बोली र व्यबहारद्वारा इर्ष्या व्यक्त गर्छन् । त्यसो त लुकाएर राख्न खोज्नेहरुले पनि पूर्णरुपमा लुकाउन असमर्थ हुन्छन् ।
डाह वा इर्ष्यामा डर र क्रोधको संयुक्त रुप हो । अर्थात् डाहमा डर पनि हुन्छ, क्रोध पनि हुन्छ । जब कुनै व्यक्तिले आफुलाई पहिलादेखि नै प्राप्त अनुरागमा वास्तविक वा काल्पनिक कमी महसुस गर्छ भने उसमा डाह वा इर्ष्या संवेग उत्पन्न हुन्छ । जुन व्यक्तिमा डाह उत्पन्न हुन्छ, उसलाई उसको ठाउँ अर्को व्यक्तिले लिने डर हुन्छ ।
वास्तवमा हार हीन मनोवृत्तिको उपज हो । मानिसमा यस्तो मनोवृत्ति बाल्यकालदेखि नै देखा पर्छ । बालबालिकाले हारको अभिव्यक्ति प्रतिद्वन्द्विलाई पिटेर, टोकेर वा कुनै प्रतिस्पर्धामा हराउने कोशिश गरेर गर्छन्, तर पाका मानिसहरुले डाहको अभिव्यक्ति परोक्षरुपमा गर्छन् ।
हिन्दी फिल्म थ्री इडिएट्स मा एउटा निकै मनोवैज्ञानिक र सटीक सम्वाद छ, आफुसँग मिल्ने साथी परीक्षामा फेल भयो भने दुःख लाग्छ, तर साथीले आफुले भन्दा बढी अङ्क ल्यायो भने त्यो भन्दा बढी दुःख लाग्छ । वास्तवमा यो सम्वादले मानिसको मनोविज्ञानलाई दर्शाउँछ ।
कुनै गाउँमा निकै मिल्ने साथीहरु थिए, हिन्दी फिल्म शोलेका जय र विरु जस्तै । कागतालीले उनको नाम पनि जय र विरु नै थियो । एक दिन घुमघाम गर्न जय जङ्गलतिर गएको थियो ।
अकस्मात् उसले आफ्नो अगाडि बनदेवी प्रकट भएको देख्यो । सपना हो कि बिपना उसले ठम्माउन सकेन, तर पनि उसले हात जोडेर बनदेवीलाई ढोग गर्यो ।
वनदेवी मुसुक्क हाँसेर भनिन्, ‘जय ! म तिमी दुईको मित्रता देखेर निकै प्रसन्न छु । वास्तवमा तिमीहरु मित्रताको एक उदाहरण हौं । यसै खुसीमा म तिमीलाई तीन वटा वरदानहरु दिन चाहन्छु ।
अब तिमी घर जाउ र मलाई सम्झेर तीन वटा वरदानहरु माग, तत्काल नै ती वरदानहरु पूरा हुने छन् । तर, एउटा कुरा के भने तिमीले जे जे माग्ने छौ, त्यसको दोब्बर तिम्रो अभिन्न साथी विरुलाई प्राप्त हुने छ ।’
वनदेवीको कुरा सुनेर जय निकै खुसी भयो । बनदेवीलाई धन्यवाद दिँदै घरतिर दौडियो । आफ्नो पुरानो घरदेखेपछि उसले हात जोडेर प्रार्थना गर्यो, बनदेवी, मलाई आलिशान घर दिनुस् । जयको प्रार्थना भुइँमा खस्न नपाउँदै पुरानो घरको ठाउँमा एउटा विशाल घर खडा भयो ।
विरु निकै खुसी भयो । अनि उसले सोच्यो, यो भव्य महलमा कैटरिना कैप जस्ती सुन्दरी भए झन् कति मजा आउने थियो । उसले सोच्ने बित्तिकै बार्दलीमा बसेकी एक सुन्दरीले बोलाएको देख्यो ।
अनि ऊ रोमान्चित हुँदै बार्दलीतिर लाग्यो । त्यसैबेला सिढीको झ्यालबाट अचानक उसको नजर विरुको घरतिर पर्यो । विरुको पुरानो घरको ठाउँमा दुई भव्य महलहरु खडा थिए । महल अगाडिको लनमा बसेर विरुले दुई सुन्दरीहरुसँग मस्ति गर्दै थियो । त्यो दृश्य देखेर जयको सास फुल्यो । फुटुमा धुँवा पुतपुत्तायो । ऊ एकाएक करायो, बनदेवी मेरो एउटा आँखा फोडिदिनुस् ।
राजनीति, डाह र डर :
डाह र डरको भावना हरेक मानिसमा विद्यमान हुन्छन् । कुनै पनि मानिस पुर्णरुपमा अइर्ष्यालु र निडर हुँदैनन् । तर राजनीतिमा डाह र डर दुवै बढी हुन्छ ।
धेरैलाई अझ पनि सम्झना रहेको हुनुपर्छ । माधव नेपाल प्रधानमन्त्री हुँदा एमालेका अध्यक्ष झलनाथलाई नै सबै भन्दा बढी जलन भएको प्रष्ट देखिन्थ्यो । झलनाथ प्रधानमन्त्री भएपछि माधव र ओलीलाई पनि त्यत्ति नै जलन भएको थियो ।
सुशील कोइराला प्रधानमन्त्री हुँदा सबैभन्दा बढी डाह र डर देउवालाई भएको सह जै अनुमान गर्न सकिन्थ्यो । अहिले यस्तो डाह र डर रामचन्द्र पौडेलमा भएको हुनुपर्छ ।
काँग्रेस र एमालेको मात्र कुरा होइन, ठुला नेताहरुको मात्र कुरा होइन, हरेक स्थानीय नेता वा कार्यकर्ताहरुमा पनि यस्तो भावना देखिन्छ ।
राजनीतिमा डर र जीत :
हिन्दी फिल्म रेसको पर्दामा सैफअलि खानले शीर ठाडो पारेर आफ्नो प्रतिद्वन्द्वीलाई गौरवसाथ भन्छन् : “तुम्ने कभी जिता नही, क्योंकि तुम्ने हमेसा हरानेको सोच्ते हो । मैने कभी हारा नही, क्योंकि मैन हमेसा जित्नेको सोच्ता हुँ ।”
यो सम्वाद एक पटक गहिरेर सोच्नुहोस् त ? कति मनोवैज्ञानिक छ यो सम्वाद, कति सत्य र सटिक छ यो सम्वाद । तैल कहिल्लै जितिनस्, किनकि तैल सधैँ मलाई हराउन सोचिस् । मैले कहिल्यै हारिन् किनकि मैले सधैँ जित्न सोचे ।’
वास्तवमा जित्न सोच्नेले, जित्न खोज्नेले नै सधैँ जित्छ । हराउन सोच्नेले, हराउन खोज्नेले कहिल्यै जित्दैन, सधैँ हार्दछ । त्यो किन भने जित्न सोच्नेले जित्ने सोच्छ, सधैँ जितलाई हेर्छ ।
तर हराउन खोज्नेले आफ्नो जितको बारेमा होइन कि सधैँ अर्काको हारको बारेमा सोच्छ, सधैँ उसलाई हराउन खोज्दछ । अनि हराउन खोज्ने आफैँ हार्छ, जित्न खोज्नले नै जित्छ ।
मानसिक समस्या :
डाह र डर समान्य भावना हो । तर कहिलेकाहीं यो भावना अनेक कारणले असमान्य हुन पुग्दछ । असामान्य डाह र डर मानसिक समस्या हो । यस्तो अवस्था विभिन्न किसिमका मनोवैज्ञानिक रोगहरुका कारण पनि देखा पर्न सक्दछ ।
असामान्य डाह र डरले मानिसको दैनिक जीवनयापनमा नै अवरोध सिर्जना गर्ने हुनाले यसको उपचार आवश्यक छ । डाह र नकारात्मक डरको भावना जति कम भयो, त्यत्ति नै मानिसको जीवन सफल हुन्छ, राजनीति पनि ।