• असार १६ २०८१, शनिबार

विजयपछि उन्मुक्तभावमा मुक्ता

पुष ७ २०७८, बुधबार

प्रजातान्त्रिक पार्टीका रुपमा परिचित नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सापेक्ष प्रजातान्त्रिक परिपाटी अपनाइयो । यो परिपाटी अन्तर्गत् भएको काँग्रेस केन्द्रीय समितिको निर्वाचनमा मुक्ताकुमारी यादव सबैभन्दा बढी मत लिएर विजय भइन् ।

उनीसँगै प्रतिस्पर्धामा रहेका तात्कालीन महामन्त्री शशांक कोइरालाभन्दा पनि बढि मत लिएर केन्द्रीय समितिमा निर्वाचित भएपछि उनको चर्चा यसै पनि चुलिन पुगेको हो । १४ औं महाधिवेशनमा सर्वाधिक मत पाएकी यादवले १३ पदाधिकारी र ७१ जना केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक हुँदा सबैभन्दा बढी मत प्राप्त गरेकी छिन् ।

खासमा मधेशी महिलातर्फ केन्द्रीय सदस्यमा उमेदवार रहेकी यादवको कूल खसेको ४६७१ मतमध्ये उनले ३९६० मत प्राप्त गरेकी हुन् । प्रतिशतका आधारमा यो खसेको मत ८५ प्रतिशत हुन आउँछ । उनले हालसम्म सबैभन्दा बढी रहेको खुला केन्द्रीय सदस्यतर्फबाट निर्वाचित निवर्तमान महामन्त्री शशांक कोइरालाले प्राप्त गरेको ३८३६ मत भन्दा १२४ मत बढि प्राप्त गरेकी छिन् ।

निर्वाचन प्यानलमा उनी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरी तीनवटै प्यानलमा परेकी भाग्यमानी थिइन् । तात्कालिन १२ औं महाधिवेशनमा मधेसी महिला कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवारमा पराजित भएकी उनी अहिले सबैभन्दा बढि लोकप्रिय मत पाएर विजय भएकी छिन् ।

हाल धनुषा क्षेत्र नम्बर–२स्थित सहिदनगर नगरपालिका–१ बालाबाखरमा बस्ने यादवले स्नातकसम्म अध्ययन गरेकी छिन् । उनी राष्ट्रिय सभाकी पूर्व सांसद समेत हुन् ।

बि.सं. २०५३ बाट राजनीतिक यात्रा सुरु गरेकी यादवले काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको जिल्ला कार्यसमितिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन् ।