काठमाडौं । युरोपीय महादेशमा कोरोना महामारी उत्परिवर्तनको नयाँ भेरियन्ट ओमिक्रोनले भयाबह स्थिति निम्त्याउन सक्ने संभावना देखिएपछि विश्व स्वास्थ्य संगठनले आवश्यक सतर्कता अपनाउन गम्भीर चेतावनी दिएको छ । यो चेतावनीसँगै सिंगो युरोपमा कोभिड–१९ सम्बन्धी प्रतिबन्धात्मक नियम पुनः लागू गर्ने घोषणा गरी अघि बढ्न थालेका छन् ।
क्षणभरमै फैलने क्षमता राख्ने ओमिक्रोनको सुरुका लक्षणहरु देखेर त्यति खतरनाक नहुने भनिए पनि यसले केही समयपछि भयाबह अवस्था निम्त्याउन सक्नेमा भने स्वास्थ्य विदहरुको मतैक्यता रहेको देखिन्छ ।
युरोपका धेरै देशहरुमा अहिले ओमिक्रोन नै प्रमुख भेरियन्टको रुपमा देखा पर्दै गैरहेको छ । जर्मनी र पोर्चुगलसहित अरु देशहरुका अब आइरहेको क्रिसमसको सेलिब्रेशन निकै कठिनाइ हुने बताइरहेका छन् ।
भौतिक दुरी कायमसहित मास्क, स्यानिटाइजर र साबुन पानीलेको प्रयोगमा निकै सतर्क रहे पनि ओमिक्रोनले कसैलाई पनि नछाड्ने बताइएको छ । यसै कारणले पनि डिसेम्बर पछि जमघट र भेला/ सम्मेलनलाई स्थगित गरिने भनिएको छ ।
यसका साथै, नाइट क्बल बन्द गरिने घोषणा गरिएको छ । स्वेडनमा बुधबारदेखि बार, क्याफे र रेष्टुरेन्टमा केही दिन बसिरहेका पाहुनालाई मात्रै सेवा उपलब्ध गराइने र नयाँलाई बुकिङमा नलिने घोषणा गरिएको छ । नेदरल्याण्डमा सोमबारदेखि नै कडा लकडाउन जारी गर्ने घोषणा गरिएको छ । युरोपेली नेताहरु एकान्तमा क्रिसमस र नयाँ वर्ष मनाउने मुडमा रहेका छन् ।
यता नेपाल पनि विश्व उडानको ट्रान्जिटमा रहेकाले ओमिक्रोन महामारीबाट बच्न समय छँदै विविध उपायहरु अपनाउनु उपयुक्त हुन्छ । त्यसो त नेपालमा आएका दुईजना विदेशी पाहुनामा यो महामारी देखा परेकाले नेपाल भित्रिइसकेको छ । यस अघिका विभिन्न भेरियन्टले चाप पार्दा आवश्यक उपकरण र सेवा सुविधाको निकै अभाव भएको महसुस भएको थियो ।
ओमिक्रोन ती भेरियन्टको तुलनामा निकै गतिशील तथा संक्रामक भएकाले यसको सानोतिनो तयारीले पुग्ने देखिदैन । उता नेपालको चाहना र भावना विपरीत केही अन्तर्राष्ट्रिय आवतजावतमा निरन्तरता छ । यसले पनि ओमिक्रोनको संभावित संक्रमणबाट बच्न नेपाललाई साथ दिने देखिएको छैन ।
नयाँ उत्परिवर्तन ओमिक्रोन विश्वका धेरैजसो देशहरुमा फैलिइसकेकाले यसबाट बच्ने उपाय अबलम्बन गर्नुभन्दा अरु केही पनि उपाय बाँकी छैनन् । अहिलेलाई मास्कको उचित प्रयोग, स्यानिटाइजरको नियमततामा ध्यान, साबुनपानीले हात धुने बानी, भौतिक दुरी कायम राख्ने र आवश्यक कामबाहेक बाहिर ननिस्कने विधि र तरिकालाई निरन्तरता दिए पनि यसले धेरै सहययोग पुर्याउने छ ।
यसका साथै सरकारले ओमिक्रोनको संभावित संक्रमणको आँकलन गरी अक्सिजन सिलिण्डर, कोभिड वार्ड, विज्ञहरुको टिम निर्माण, आइसोलेसनको पुनस्थार्पना, होल्डिङ सेन्टर निर्माण तथा खोप बिस्तार गर्नु जरुरी छ ।