अजय मिश्र, कपिलवस्तु । पुषको चिसोले वातावरण कठ्याङ्ग्रिएको बेला नेपालको राजनीति भने निक्कै तातिएको छ । चुनावको समय नजिक आइरहेका बेला भएर र एमसीसी लगायतका विषयले पूरै विश्व परिवेश नै खलबलिएका बेला नेपालमा पनि त्यसको असर पर्ने नै भयो ।
एमसीसीकै कारण ओली सरकार ढालिएको चर्चा भइरहेका बेला र यसका बारेमा सदनमा छलफको विषय भनिरहेको तथा सडकमा पनि यसका बारेमा व्यापक विरोध प्रदर्शन भइरहेका बेला एमाले अध्यक्ष केपी ओली भने हिजो मात्रै कपिलबस्तु पुगेका छन् ।
अन्य पार्टीबाट एमालेमा प्रवेश गर्नेहरुलाई सम्बोधन गर्न ओली त्यहाँ पुगेको समाचारमा जनाइएको छ । त्यहाँ भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमा मात्रै मधेसी कार्यकर्ताको भविष्य सुरक्षित रहेको भन्न भ्याएका छन् ।
ओलीले किसान, मजदुर, पिछडिएको व्यक्तिहरु मुस्लिम, मधेसीकोे हक र अधिकारको लागि नेकपा (एमाले) पार्टी मात्रै सुरक्षित रहेको बताए । उनले नेपाली जनताको विकासको लागि नेकपा (एमाले) सरकारमा हुँदा ठूलो पहल गरेको दावी पनि गरेका छन् ।
एमालेको पालामा बालबालिकाले उचित शिक्षा पाउने, जेष्ठ नागरिकहरुलाई उपचार, भूमिहीन गरिबहरुलाई सरकारले घर बनाउने र फुसका छाना विस्थापित गर्ने कार्य र बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको साथै आफ्नो कार्यकालमा मधेसको लाइफलाइन हुलाकी राजमार्ग निर्माण कार्य योजना लागु गरेको बताए ।
ओलीले हुलाकी राजमार्गको २० प्रतिशत काम गर्न मात्रै बाँकी रहेको र अब कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताए । मंगलबार कृष्णनगरको बहादुरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आएका ओलीले हुलाकी राजमार्गको इतिहास बताउँदै निर्माण कार्यको अवलोकन समेत गरेका थिए ।
कृष्णनगर नगरपालिका-८ बहादुरगञ्जमा एमाले प्रवेश तथा जनसभा कार्यक्रमका अध्यक्ष नेकपा (एमाले) जिल्ला अध्यक्ष झबिलाल पोख्रेल, प्रमुख अतिथि नेकपा (एमाले) का राष्ट्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका ओली, विशिष्ट अतिथि एमालेका महासचिव तथा लुम्बिनी प्रदेश पूर्वमुख्यमंत्री शंकर पोखरेल, एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छवि विश्वकर्मा, केन्द्रीय सचिव तथा सुदुर पश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्ट, अतिथिहरुमा केन्द्रीय सदस्य सूर्य थापा, सुशिल श्रीवास्तव केन्द्रीय सदस्य तथा इत्तेहाद नेपालका संयोजक सेराज अहमद फारूकी, गंगा चौधरी, पशुपतिदयाल मिश्रा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
नेकपा (एमाले) पार्टी प्रवेश कार्यक्रममा कृष्णानगर नगरपालिका वड़ा नं.३ नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्ष पदमा निर्वाचित सगीर अहमद खाँ तथा निर्वाचन क्षेत्र ३ का नेता मंगलप्रसाद गुप्ता लगायत जिल्लाका विभिन्न पार्टीबाट र अन्य गरि हजारौं कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बहादुरगञ्ज आइरहेका एमाले अध्यक्ष ओलीलाई एमालेको कृष्णनगर नगरकमिटी सचिवालय सदस्य मिर्जा राशिद बेगको नेतृत्वमा मोटरसाइकल र्याली गर्दै महराजगंजको बुटहानिया चोकदेखि बाजागाजका साथ कार्यक्रम स्थलमा पुर्याइएको थियो ।
सो पार्टीका स्थानीय नेता मिर्जा राशिद बेग, अल्ताफ खाँ (मिनु), मनोज जयसवाल, जिब्राइल हलवाईको नेतृत्वमा ओलीलाई सयौंको संख्यामा रहेका कार्यकर्ताले कार्यक्रमस्थल पुर्याएका थिए ।