• मंसिर ९ २०८१, आईतवार

दुई न्यायाशीशले धानेको विशेष अदालतमा ऐनविपरीत इजलास गठन

पुष ७ २०७८, बुधबार

काठमाडौं । ६ जना न्यायाधीशको दरबन्दी रहेको विशेष अदालतमा हाल जम्मा दुईजना न्यायाधीश छन् । विशेष अदालतमा ऐनविपरीत इजलास तोकेर मुद्दा प्रक्रिया अगाडि बढाइएको छ ।

विशेष अदालत ऐनको दफा ३ (क) मा ‘विशेष अदालत गठन गर्दा तीनभन्दा बढी सदस्य रहेको विशेष अदालत गठन गरिएकोमा प्रत्येक इजलासमा तीन सदस्य रहने गरी इजलास कायम गरिनेछ’ भन्ने व्यवस्था छ ।

विशेष अदालत ऐनअनुसार तीनजना न्यायाधीशको इजलास तोक्नुपर्ने व्यवस्था छ । अपवादका रुपमा कहिलेकाहीं थुनछेक बहस,मानवीय समस्या आएको बेलामा मात्रै दुईजना न्यायाधीशले मुद्दा हेर्न सक्ने व्यवस्था छ । तर ऐनविपरीत दुईजना न्यायाधीशले साउनदेखि यता मुद्दा हेरिरहेका छन् ।

‘विशेष अदालत ऐनमा तीनजना न्यायाधीशको इजलास तोक्नुपर्ने व्यवस्था छ । तर दुईजनाले बिरामी हुँदा पनि बिदा नलिई मुद्दा हेरिरहनुभएको छ,’ विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले भने, ‘दैनिक दुईचार जना थुनछेक बहसका लागि उपस्थित भैरहेका हुन्छन् । कहिलेकाहीं १०–११ जना पनि हुने गरेका छन् ।’

समयमा न्यायाधीशको पूर्ति नहुँदा दैनिक मुद्दामा निकै असहज भैरहेको उनले बताए । ‘६ जना न्यायाधीश हुनुपर्नेमा साउनदेखि जम्मा दुईजनाबाट काम भैरहेको छ ।

अन्य अदालतमा प्रधानन्यायाधीशले काजमा पठाउने व्यवस्था भए पनि विशेष अदालतमा न्याय परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । न्यायपालिकामा देखिएको विवादका कारण न्याय परिषद्को पनि बैठक बस्न नसकेको हो । यो समाचार नागरिक दैनिकमा छ ।