• बैशाख ११ २०८२, बिहीबार

सभामुखको साथमा माधव नेपाल

पुष ६ २०७८, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी( एकीकृत (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उनले कानुनको शासनपालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने उल्लेख गर्दै भने,“ सभामुखज्यू तपाई एक्लो हुनुहुन्न, तपाईको साथमा हामी पनि छौँ । दृढताका साथ अगाडि बढनुहोस् ।”

तत्कालीन एमाले पार्टीबाट विद्रोह गरेर कम्युनिष्ट आन्दोलन जोगाउन र बचाउन कानूनको आधारमा साहसिक कदम चालिएको स्पष्ट पार्दै अध्यक्ष नेपालले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्दै माक्र्सवाद र लेनिनवादप्रति पूर्ण प्रतिबद्ध रहेर कम्युनिष्ट मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गरी बेतिथि, गरिबीलाई समाप्त गरेर सुन्दर समाजको निर्माणमा आफ्नो पार्टी लाग्ने बताए ।