• मंसिर १२ २०८१, बुधबार

सरकार हत्यारालाई फाँसी दे, कति अन्याय सहनु !

पुष ६ २०७८, मंगलवार

खगेन्द्र अवस्थी
धनगढी । कैलाली जिल्लामा दैनिकजसो मानिसका हत्या भएका घटना सुनिन र देखिन थालेका छन् । निर्दोष र पीडितका गहभरि आँशु हुन्छन् । न्याय पाउँ सरकार ! भन्ने नारा लगाउँदै कोही स्थानीय सरकारलाई घच्घच्याइरहेका छन् त कोही भने न्यायका लागि अदालतको ढोका समेत ढक्ढक्याइरहेका छन् ।

एउटाको आखाको आँशु सुक्न न पाउँदै फेरि कैलालीकै जानकी गाउँपालिकाका अर्का एक युवकको घाँटी रेटेर हत्या गरियो । फेरि एउटी नारीको आँशु खस्यो, सिउँदो पुछियो र आमाबुवाको साहारा लुटियो ।

स्थानीय अर्जुन दासको विभत्स हत्याले यो क्षेत्र असुरक्षित बनेको छ भने साँच्चै यो क्षेत्र अपराधीहरूको क्रिडास्थल बनेको जस्तो लाग्न थालेको छ । आजभोली चक्कु हानेर मान्छे मार्नु कैलालीको लम्की, टिकापुर, चिसापानी र जानकी गाउँपालिका जस्ता क्षेत्रमा सामान्य जस्तै लाग्न थालेको छ ।

भुपेन्द्र बडुवालका परिवारका आँशु नसुक्दै जानकी गाउँपालिका वडानम्बर ९ का अर्जुन दासका परिवारमा पनि बज्रपात पर्यो । अर्जुन एक सामान्य परिवारका मानिस हुन् । कामको शिलशिलामा बाहिर गएका अर्जुन घर नफर्किएपछि खोजतलास सुरू गरिएको थियो ।

अर्जुनका परिवारलाई न्याय दिलाउनका लागि स्थानीयहरूले उनका हत्यारालाई कडा भन्दा कारबाहीको माग गरिरहेका छन् । उनीहरुले सुरक्षा व्यवस्था कडा बनाइनु पर्ने माग पनि राखिरहेका छन् । अर्जुनको हत्याको प्रमाण हुँदाहुँदै पनि प्रहरीले हत्यारालाई पक्राउ नगरेको भन्दै आफन्तहरु आक्रोसित भइरहेका छन् ।

हामी घटनास्थल पुग्दा घटनास्थल वरपर आक्रोसित स्थानीयहरुले ‘अर्जुन दासको हत्यारालाई फाँसी दे’ ‘मानवले बाँच्न पाउनु पर्छ’ भन्दै विभिन्न नारा लगाइरहेका थिए । अनाहकमा एउटी नारीको सिन्दुर पुछियो, निर्दोष आमाको काख रित्तियो तर सरकार भने रमिते बन्दै गैरहेको स्थानीयहरुको भनाई रहेको छ । र सरकारले अहिलेसम्म हत्यारालाई कारबाही नै गर्न सकेको छैन ।

अमरावतीका अर्जुन दास रोजगारीका लागि भारत आवतजावत गर्ने गर्दथे । सामान्य परिवारका उनलाई किन यसरी हत्या गरियो त ? सबैको मनमा प्रश्न उब्जिएको छ । हत्यापछि एउटा अडियो टेप बाहारिएको छ तरपनि हालसम्म हत्यारा फेला किन परेन ? भन्दै स्थानीय र अर्जुनका आफन्तहरु आक्रोसित बन्दै गैरहेका छन् ।

हिजो भुपेन्द्र बहुवालको हत्या भयो, आज अर्जुन दासको । भोली हाम्रो वा अरु कसैकोपनि हत्या नहोला भन्न सकिन्न । कैलाली जिल्ला मानिसको हत्याका लागि योजना तयार गरिने ठाउँ भनेर समेत परिचित हुन बेर छैन । सरकार यो त अति नै भयो । पीडितको आँखाको आँशुको मूल्यांकन गरेर राज्यले हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्नुपर्दछ ।

पीडकलाई फाँसीको सजाय दिनुपर्ने पीडितका आफन्तहरुको माग रहेको छ । आज सत्ताको शक्तिमा बसेका नेताले जनताको लागि पनि केहि गर्नैपर्ने अवस्था आइरहेको छ । आजको विज्ञान र प्रविधिको युगको परिवेशमा पनि अपराधि पत्ता नलगाएमा वा लगाउन नसकेमा तथा पत्ता लगाएर पनि अपराधीले सजाय नपाएमा जनताले सरकारलाई समेत विभिन्न उपनाम दिने छन् र यो सरकार कस्को हो ?

कहाँबाट परिचालित छ ? र कसले चलाइरहेको छ ? भनेर प्रश्न उठ्नेछ । त्यसकारण राज्यसत्तामा रहेकाले बलैमा सोच्नुपर्ने अवस्था आइसकेको छ ।