• बैशाख ११ २०८२, बिहीबार

एमसिसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

पुष ६ २०७८, मंगलवार

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।

मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसिसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए ।

“एमसिसी पूर्ववर्ती सरकारहरूको पालोमै अगाडि बढेको हो । यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएको हो,” उनले भने, “नेपाल सरकार र एमसिसी परियोजनाको बीचमा धेरै वर्षअगाडि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो ।”

गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋण नभई निःसर्त अनुदान भएको स्पष्ट पारे । सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनले उल्लेख गरे । उनले एमसीसी संसद्बाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरूबीचमा छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडि बढ्ने बताए ।