काठमाण्डौं । कृषि मन्त्रालयको अक्षम्य लापर्वाहीका कारण भारतको बन्दरगाह कोलकातामा १ लाख २६ हजार बोरा रासायनिक मल नष्ट भएर बर्बाद हुँदा नेपाली किसानका लागि प्रयोग गर्ने मल जताततै अभाव हुन गएको छ । हिउँदे बालीका लागि पनि ठूलो मात्रामा रासायनिक मलको खपत हुने नेपालमा अहिले किसान मल नपाएर छटपटाउन थालेका छन् ।
हिउँदमा गहुँ र व्यवसायिक तरकारी खेतीका लागि मल निकै आवश्यक पर्छ । तर बजारमा मल छैन । पुस लागेदेखि स्थानीय कृषि केन्द्रहरु तथा बजारमा किसानहरुको मल खोज्नका लागि भिड लाग्ने गरिरहेको छ । तर कतै पनि मल नपाए पछि किसान निरास हुने गरेका छन् ।
हिउँदे बालीका लागि अब रासायनिक मलको आवश्यक पर्छ भन्नेमा सरकार र यस मातहतका कार्यलयहरु यस बारेमा अनभिज्ञ भने छैनन् । तर हरेक वर्ष किसानहरुले यही सास्ती भोगिरहनु पर्छ । प्रत्येक हिउँदमा कम्तिमा पनि १ लाख ४० हजार मेट्रिक टन मल नेपालको रविबालीका लागि आवश्यक पर्छ ।
तर लाजमर्दो कुरा के छ भने रासायनिक मलको अधिकृत बिक्रेता कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग भने बढिमा १५ हजार मेट्रिक टनभन्दा रासायनिक मल गोदाममा मौज्दात छैन । यो मल कहाँ र कसले लिएर ‘टीका’ लगाउन पुग्ने हो थाह छैन ।
यता केन्द्रमा अर्थतन्त्रमा तरलता आयो, खर्च हुन सकेन बजेट भन्दै एकले अर्कालाई सकेजत्ति धज्जी उडाउने, कसैले एकअर्कालाई धम्की दिने, बजेट खर्च गर्न सकिदैन भन्ने र बजेट खर्च गर्न नसके रकमान्तर गरिने ‘देखाइदिने’ होड चलेको छ । एकप्रकारको तमासा चलिरहेको छ ।
कृषि मन्त्रालय आफैले वार्षिक आँकडा निकालेको छ कि प्रतयेक वर्षको मंसिरदेखि माघसम्म १ लाख ४० हजार मेट्रिकटन युरिया र डीएपी मल आवश्यक पर्छ । तर त्यो सधैं कागजी मात्र हुने गरेको छ । अहिले कर्मचारीको एउटै जवाफ छ, ‘समयमा मल खरिद नहुँदा अभाव देखिएको हो ।’
अब त कृषि मन्त्रालयका कृषिमन्त्री र कर्मचारीहरुलाई समय, मौसम, महिना र गते वारसम्म पनि किसान नै पुगेर सम्झाउनु पर्ने आवश्यकता हुन थालेको छ । सामान्य किसान मन्त्रालयमा बसेमा बरु समयमै यसो गरौं भनेर उसैले सल्लाह पो दिने थियो कि भन्ने यथार्थ लज्जा अहिले जररी हुन पुगेको छ ।
उता अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै मात्रामा बृद्धि हुन गएपछि अबका दिनमा रासायनिक मलको टेण्डर हाल्न कोही पनि तयार देखिएका छैनन् । अन्तर्राष्ट्रिय बजारमा अहिले रासायनिक मल दुई गुणाले बृद्धि भैसकेको छ । यसै कुरालाई दिन काट्ने विषय बनाउँदै कर्मचारी भन्न थालेका छन्, ‘अहिलेसम्म टेन्डर नभएका कारण यो हिउँदको त कुरै छाडौं वर्षे धान बालीका लागि पनि मल आउने देखिएको छैन ।’