• बैशाख ११ २०८२, बिहीबार

ओली अहिले पनि प्रतिगमनकै बाटोमा छन् : प्रचण्ड

पुष ५ २०७८, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्।

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन्।

अध्यक्ष दाहालले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना विपरीत नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे ।

अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताए । उनले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताए ।

अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दावी समेत गरे । उनले ओलीले संसद अवरुद्ध गरेर विधेयकहरू पारित हुन नदिने षड्यन्त्रमा लागेको दाबी गरे ।

अध्यक्ष दाहालले भने, ‘उहाँले अहिले पनि संसद अवरोध गर्नुको कारण भनेको के हो भने, उहाँले तर्र्क राख्नुभएको हामीले सुनेका छौँ । गठबन्धन टुट्छ भने उहाँले नेपाली काँग्रेसलाई एकलौटि सरकार बन्न दिने । यदी नेपाली काँग्रेसले गठबन्धन तोडेर एमालेको समर्थन लिन जाने हो भने । गठबन्धन टुट्ने हो भने एमसीसी पास गर्न सहयोग गर्ने । उहाँले खुलेआम दिएको तर्क हो यो । अर्कोतिर सदन चल्न नदिएर कुनै पनि विधेयकहरु परित हुन नदिने डिजाइन । यो सबै प्रतिगमनकै निरन्तरतामा उहाँ हुनुहुन्छ ।’

अध्यक्ष दाहालले गठबन्धन सरकारले ओली प्रवृत्तिलाई सफल हुन नदिने भन्दै ओली प्रतिगमनकारी तरिकाले अघि बढे संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाउने समेत बताए ।