महेश सिंह सिराहा, ५ पुष ।
बस व्यवसाय गर्दै आएका व्यवसायीले आटो सञ्चालकहरुलाई दमन गरेको भन्दै अटो सञ्चालकहरु आन्दोलित भएका छन् । सिराहाको लहानदेखि ठाडीसम्म चल्ने ३ तीन पाङ्ग्रे अटो चलाउनेहरुलाई सवारी साधन पार्किङ् गर्नमा रोक लगाएपछि बस व्यवसायीहरुको विरुद्ध लक्ष्मी भगवती अटो प्रा.लिकाका आवद्धहरु कडारूपमा आन्दोलनमा उत्रिएका हुन् ।
श्री लक्ष्मी भगवती अटो प्रा.लिमा आवद्ध सयौं अटो चालकहरुले सिराहाको भगवानपुर चोकमा टायर बालेर न्यायको माग गरिरहेका छन् ।
प्रा.लिका अध्यक्ष मुक्तिनाथ यादव, उपाध्यक्ष रघुनाथ मंण्डल, कोषाअध्यक्ष जितेन्द्र पासमान, सचिव पपुकुमार साह, सहसचिव उमेशकुमार यादव, सल्लाहकार रामशरण यादव, एकाई अध्यक्ष रामटहल साह, उपाध्यक्ष मोहमद कारुन सचिव मोहमद मकिम लगायतका पदाअधिकारीहरु समेत सडक आन्दोलनमा उत्रिएका छन् ।
आफूहरुले ऋण लिइ अटो खरिद गरेर घर परिवारको जिवीकोपार्जन गरेको तर बस व्यवसायीहरुको आफूहरुलाई अन्याय गरेकोले आन्दोलन गर्नु परेको उनको गुनासो रहेको छ । सो अटो संघमा आवद्ध रहेका अधिकांश चालकहरुले रोड परमिट अर्थात् नेपाल सरकारको बक्यौता कर तिर्दै आएका छन् । लोकतन्त्रमा सबैले काम गरि खान पाउनु पर्ने उनीहरुको माग रहेको छ ।
संघीय शासन प्रणाली लागू भएको देशमा कसैले कसैलाई दमन, हेला र अपमान गर्न पाइँदैन भन्दै उनीहरुले न्यायका लागि जोडदाररूपमा सडक आन्दोलन गर्ने बताए । चालकहरुले करिब ३ वर्ष देखि बस व्यवसायीहरुबाट शोषण र दमन खेप्दै र अहिले त सहनै नसक्ने अवस्था आएको प्रा.लिका अध्यक्ष मुक्तिनाथ यादवले बताए ।
बसबालाहरुले श्री लक्ष्मी भगवती अटो प्रालिमा आवद्ध रहेका चालकहरुलाई विभिन्न किसिमको धाकधम्की दिने र सवारीमा यात्रुहरु समेत चढाउन नदिएको पीडितहरुको आरोप रहेको छ ।
आफूहरुले न्यायका लागि पटकपटक भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादवसँग छलफलको लागि समय मिलाइदिन माग गरे पनि वास्ता नगरेको पीडित पक्षको आरोप छ । स्थानीय सरकारले समस्या हल नगरिदिएका कारण उनीहरुले भगवानपुर गाउँपालिकाको कार्यालय अगाडि धर्ना दिएर चर्काचर्का नारा लगाई जुलुस पनि गरेका थिए ।
उनीहरुले आफ्ना मागहरु पूरा नभएमा गाउँपालिकामा समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् भने सडक समेत अवरुद्ध गर्ने र आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने उनीहरुको चेतावनी रहेको छ ।