यहाँहरुलाइ स्वागत छ
बालाजु गुम्बा क्षेत्रमा
आउनुस सुनौं
यहाँको छोटो कथा
प्रगतिशील कविता सोचीबस्ने मेरो साथीलाई
भेडीगोठनेरको चार आना दुई पैसाको तनाबले घोचिरहेछ
विकास दाईको फोन अफ छ
सिधै सम्पर्क छैन जग्गा धनीसँग
उल्कै गाह्रो पारेको, प्रियसीको सम्झनाले
यसपटक वैशाख कसो नबल्ला रङ्गिन
साहुनी कस्तो कडा गुलियो हालेको चियामा
काभ्रेस्थलीमा जग्गा नबिकेपछि
पूर्व पिएलए अजय चपाउन थालेका छन्
उच्च रक्तचापको औषधि
चिया थोरै गुलियो छ
गुम्बामा चिया सस्तो छ
महङ्गो त लोलाङ हाइटको जग्गा न हो
काङ्ग्रेसी चिवर ओढेर
यतै कतै हाजिर छन् न्यौपाने सर
रसुवाको चिसो पानी खाएको दाबी गर्दै
बेचिरहेछ मनमैजुमा पानी नआउने घर
जनताको बहुदलीय जनवादको मर्ममाथी टेकेर
भट्टजीले भट्टमास चपाए
घिमिरेजीले घिउ खाए
सत्यालजीले सताए
रमेश नेपाली सम्पर्कविहीन छ
टाउको खाइसक्यो बनस्थलीको पाटीले
ए साहुनी ! एक चिया है कुमारलाई
त्रिशुलीको नेवार साहु
चामल बेच्थियो काठमाडौंलाई
झ्याप्पै नाफा हुने बिजनेसमा लागेको छ
ऊ पनि गुम्बा आएको छ
हल्दार साप
झोरको तीन आनामा हानौं न यसपटक
साह्रै सस्तो छ
बर्गर हाउसमा पिज्जा चपाउने दाँतहरु
गुम्बाको सेल मन पराउन थालेका छन्
गजलकार रुपेश अञ्जानको पठाओ चढेर
तामाङ जी पटकपटक पुगिरहेछ टोखाको प्लटिङतिर
एकजना तामाङले हेटौंडामा बिचार बेचे
एकजनाले लामाले हेटौंडामा जग्गा बेचे
गुम्बाको समाजशास्त्र भन्छ
बिचार बेच्नु भन्दा
महत्वपूर्ण हो, शरीर बेच्नु
शरीर बेच्नु बन्दा राम्रो हो, जग्गा बेच्नु
अधिवक्ता भण्डारीजीलाई
राजनीतिक पोलुसनले रुघा लागेको छ
रुघाको औसधि निम्स बेच्ने
फार्मेसीवाला नै भएको जग्गा ब्यापारी
यहाँहरुलाई गुम्बा क्षेत्रमा स्वागत छ ।