• बैशाख ११ २०८२, बिहीबार

गोल ब्रीफिङ : एमसीसी संसदमा पेस गर्ने संकेत, शशांकको पपुलर भोट, अरुणको घाँटी रेटेर हत्या गर्ने पक्राउ

पुष ४ २०७८, आईतवार

काठमाडौं । गोलखबरको गोल ब्रीफिङमा दैनिक देशको विकसित राष्ट्रिय राजनीति र समसायिक घटनाको संक्षिप्त विश्लेषण गरिन्छ । यसैगरी आज (आइतबार) दिनभरी देशमा घटेका घटना र वितेका शीर्ष समाचारलाई संक्षेपमा विश्लेषण गरिएको छ ।

एमसीसी संसदमा पेस गर्ने संकेत– सरकारी निवास बालुवाटारमा आज (आइतबार) सर्वदलीय बैठक बसेको छ । सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी र अन्य साना राजनीतिक दललगायतको सर्वदलीय बैठक बसेको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने अनुपस्थित थियो । अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको आरोपमा एमालेका तत्कालीन वरिष्ठ नेता तथा वर्तमान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित एमालेबाट निर्वाचित १४ सांसदलाई कारबाही गरेको थियो ।

कारबाही गरेलगत्तै उसले संसद् सचिवालयलाई जानकारी पठाएको थियो । यद्यपि सभामुख अग्नि सापकोटाले उनीहरूलाई कारबाही नगरेको भन्दै एमाले सांसदहरूले लगातार संसद अवरुद्ध पार्दै आएका छन् ।

एमालेले अवरोध गर्दै आएको संसदको गतिरोध अन्त्य र अमेरिकी आर्थिक परियोजना एमसीसी संसदमा पेस गर्ने लगायतका विषयमा आज सर्वदलीय बैठक बसेको हो । तर, एमालेले कारबाही गरेका सांसदलाई कारबाही नगरेसम्म संसदको गतिरोध अन्त्य नगर्ने उपाध्यक्ष सुवास नेम्वाङले बताए ।

प्रधानमन्त्री तथा नवनिर्वाचित काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमसीसीको विषय उठाइएको थियो । बैठकको छलफलमा एमसीसीबारे कुरा उठेपछि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी पेस गर्ने संकेत गरेपछि नेताहरूले विरोध जनाए ।

माओवादी केन्द्रका एक सांसदका अनुसार संसदमा मन्त्री कार्कीले एमसीसी पेस गर्ने संकेत देखाएपछि नेता नारायणकाजी श्रेष्ठले विरोध जनाएका थिए । नेकपा (एकीकृत समाजवादी)का सांसद् वेदुराम भुसालले पनि एमसीसी संसदमा पेस गर्न नमिल्ने भन्दै विरोध जनाए थिए ।

सवैदलीय बैठकमा प्रधानमन्त्री देउवाले सुवाललाई आफ्नो धारणा राख्न भने पनि उनले विभिन्न धाराहरूका सन्दर्भ उल्लेख गरेका थिए । तर, एमसीसी जस्तो राष्ट्रघाती परियोजना पेस गर्न नमिल्ने भन्दै विरोध जनाए ।

त्यस्तै राप्रपा, राजमोलगायतका अन्य साना दलहरूले पनि विरोध गरेका थिए । यद्यपि माओवादी केन्द्र र एकीकृत समाजवादीले भने संशोधनपछि मात्रै सांसदमा पेस गर्नुपर्ने बताएका थिए भने जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसी पारित गर्नुपर्ने बताएका छन् ।

तथापि सत्तारूढ ५ दलीय गठबन्धनले एमसीसी टुंगोमा पुर्याउन ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् ।

शशांकको पपुलर भोट– नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ । यो ब्रीफिङ तयार पर्दासम्म ३ हजार ५९५ मतगणना भइसकेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अहिलेसम्मको मतपरिणामअनुसार डा.शशांक कोइरालाले सबैभन्दा बढी (पपुलर) भोट ल्याएका छन् । उनले हालसम्म २ हजार ९४० मत पाएका छन् । डा.शशांक काँग्रेस १४औँ महाधिवेशनको समापति पदका प्रत्यासी थिए । तर, रामचन्द्र पौडेलले आफूलाई सर्वसम्मत सभापति पदको उम्मेदवार बनाउनुपर्ने अडान राखेपछि उनले रामचन्द्रलाई समर्थन गर्दै सभापतिको उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।

अरुणको घाँटी रेटेर हत्या गर्ने पक्राउ– कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको छ । स्थानीय अमरावती सामुदायिक वनको जंगलमा घाँटी छिनालेर शरीर एकातिर, टाउको अर्कोतिर पारी कपडाले रुखमा बाँधेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अरुणलाई रुखमा बाँधेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । हत्यामा चार÷पाँचजनाको संलग्नता देखिएको त्यहाँको प्रहरीले बताएको छ । हिजो (शनिबार) बिहान ३ देखि ५ बजेको बीचमा घटना भएको प्रहरीको अनुमान छ । घटनापछि दुई जनाबीच फोन संवादको अडियोसमेत सार्वजनिक भएको छ ।

अडियोमा आफूलाई मनोज भनेर चिनाएका व्यक्तिले आफूले एकजनाको घाँटी छिनालेको खुलाएका छन् । फोन संवाद गर्ने व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ । अरुणको घटनामा संलग्न संकास्पद एक जनालाई प्रहरीले नियणन्त्रमा लिएको छ भने घटानको अनुसन्धान भईरहेकोले तथ्य के हो भन्नेबारे प्रष्ट भईसकेको छैन ।