• मंसिर ११ २०८१, मंगलवार

कोपभाजनमा नेपाली क्रिकेट

पुष ४ २०७८, आईतवार

क्रिकेट आसोसियसन अफ नेपाल (क्यान) ले पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चारजना खेलाडीहरुलाई कार्वाही गरी सन्दीप लामिछानेको नेतृत्वमा नयाँ टिम गठन गरेको छ । यसपछि खेल जगतमा एकखाले सन्नाटा छाएको छ ।

यो विवाद राजनीतिक दल र त्यसका नेताहरुसम्म पुगिसकेको छ । यसलाई लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त सार्वजनिक रुपमा आफ्नो असहमति समेत व्यक्त गरिसकेका छन् । क्रिकेट संघभित्र वास्तवमा के भयो त्यो सबिस्तार बाहिर आउन पनि सकिरहेको छैन ।

व्यवस्थापन पक्षले बोर्ड बैठक बसेर गत बुधबार नै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कार्वाही गरिएको व्यहोरा सार्वजनिक गरेको छ । तर कार्वाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले कार्वाही गरिएको पत्र प्राप्त गरेपछि शुक्रवार नै आफूहरुमाथि गरिएको कार्वाहीका बारेमा पुनर्विचार गर्न भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

लामो समयदेखि क्यानभित्र ‘सेन्ट्रल कन्ट्रयाक्ट’ नगरिँदा निम्तिएको पारिश्रमिक बिबादले निकै चर्को रुप लिएको थियो । यसले खेल जगत र खेलप्रेमीहरुका माझ अप्ठेरो अवस्था सिर्जना गरिरहेका थियो । आन्तरिक रुपमा विवाद समाधानका खातिर लागि परेका खेलाडीहरु केही सिप नलागेपछि सार्वजनिक रुपमा बाहिरिएको देखिन्छ ।

उनीहरुले लामो समय नेपाली खेल जगतमा ब्याट र बल छोड्नु पर्ने स्थिति सिर्जना नगर्न संस्थालाई अनुरोध गरे पनि यो अनुरोधले काम गर्न सकेन । अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गरिए पनि व्यवस्थापन पक्ष र खेलाडीका बीचमा चलेको विवाद निकै तिक्ततामा परिणत भैसकेको थियो ।

यो कारवाही पछि दीर्घकालीन रुपमा क्यान र यससँग सम्बद्ध खेलाडीहरुको भविष्य यसै त हँदै जाने होइन भन्ने आशंकालाई बल मिलेको छ । चुनौतीको दोसाँधमा उभिएका खेलाडीका लागि अबका दिनमा योगदानको कदर नहुने हो कि भन्ने चिन्ताले घर गराउन पुगेको छ ।

यसले कतै खेलाडीहरु ‘हायर एण्ड फायर’को अवस्थामा रहनु पर्ने त होइन भन्ने आशंकालाई मलजल गर्न पुगेको छ । त्यसैले पनि यो निर्णयको पुनर्विचार गर्न सकिएमा यसले आगामी दिनमा खेलाडी र खेल प्रशासनका बीचमा आउन सक्ने समस्याको मैत्रीपूर्ण बाटो र उपाय खुल्ला गरिराख्ने छ ।