• असार १३ २०८१, बुधबार

मुस्कानको शक्ति : जसले जोगायो कैदीको ज्यान

पुष ४ २०७८, आईतवार

स्पेनमा गृहयुद्धताका फाँसीवादीहरु विरुद्ध लड्दै गर्दा म पक्राउ परें । मेरा दुस्मनले मलाई कालकोठरीमा हालीदिए र त्यहाँबाट अब बच्न सकिन्छ भन्ने मलाई पटक्कै थिएन । आँखा अगाडी मृत्यु देखेरको डराउँदैन ? को काम्दैन ? चिन्ता र डरले थर्थराएको जिउलाई साम्य पार्न चुरोट पिउन मन लाग्यो । शत्रुहरुले मलाई पक्रंदा सबै चिजबिजहरु लगेका थिए ।

कसो हुनाले यो एउटा चुरोट बाँकी रहेछ । चुरोट ओठमा त लगाएँ तर त्यसलाई सल्काउने चिजबिज मसँग थिएन । मलाई थुनिएको ठाउँबाट जेलेरलाई स्पष्ट देख्न सक्थेँ । जालीबाट यता देखिन्थ्यो कि देखिंदैनथ्यो म ठयाक्कै भन्न तसक्दिनँ तर यसो ठूलो स्वरले बोल्यो भने त्यता नसुनिने कुरै थिएन । मैले हिम्मत जुटाएँ र भनें,‘चुरोटको ज्यादै तलतल लाग्यो । निगाह भए म छ्यास्स आगो पाउँथें कि ?’ जेलर निकै कोमल रहेछ । ऊ लुखुरलुखुर आयो र सलाई कोरिदियो । ऊ बार बाहिर म बारभित्र ।
सलाईको झयारर्र आवाजसँगै अनायास मेरो आँखा उसको आँखासँग जुध्यो । जसै आँखा जुध्यो, मेरा ओठ मुस्कानले तनक्क तन्किए । त्यो क्षण म जेलरसँग किन मुस्काएँ, मलाई नै थाहा छैन तर मेरो मुस्कानको असर के परिदियो भने, जेलरका ओठ पनि मुस्काए । मलाई थाहा थियो, ऊ मालिक अनि म बन्दी । ऊ मसँग कसरी मुस्काउन सक्छ ? ऊ मसँग मुस्काउन चाहँदैन थियो तर मेरो मुस्कानका कारण अकस्मात ऊ पनि मुस्कायो । यो मुस्कानले मनको दुरी मेटिदिएको थियो ।

चुरोट सल्काइसकेपछि पनि जेलर केहीबेर आमने समाने भएरै बस्यो र हामी एकअर्कालाई हेर्दै मुस्काइरहेका थियौँ । त्यहाँ उसका लागि कैदी थिइनँ म र, ऊ पनि जेलर थिएन मेरा लागि । अकस्मात जेलरले सोध्यो ‘बच्चाबच्ची कति छन् नि ?’ मृत्युको चिन्ता र डर अझै घटिसकेको थिएन र बोल्ने आँट अझै आइसकेको थिएन । मैले उसको प्रश्नमा आफ्नो गोजीमा भएको फोटोबाट उत्तर दिन चाहन्थें । गोजी छामछुम पार्दैगर्दा उसले आफ्नो गोजीबाट एउटा राम्रो बच्चाको तश्विर निकाल्यो ।

उसलाई आफ्नो निनोजप्रति ठूलो आशा थियो र ऊ कल्पिरहेको थियो (निनोजका लागि ऊ यसो गर्नेछ, उसो गर्नेछ । उसले आफ्नो छोराका बारेमा भन्दै गर्दा मेरो आँखामा चाहिँ आँशु आयो । नआओस् पनि किन ? अब म उसलाई कहिल्यै देख्न पाउन छैन । मैले भनेँ पनि,‘मैले कहिल्यै पनि मेरा सन्तान र श्रीमानलाई हेर्न नपाउने भएँ । मेरा सन्तानहरु हुर्किरहेको मैले देख्न नपाउने भएँ ।’

मैले त्यसो भनिरहँदा उसका आँखामा पनि आँशु देखेँ । अचानक ऊ जुरुक्क उठयो र मेरो कोठाको ताला खोल्यो । मेरो कोठाभित्र छिरायो र मेरो हातमा समात्यो । भित्रि चोठाकोठा हुँदै उसले जेलबाहिर निकाल्यो र सुरक्षित ठाउँमा आइपुगेपछि मलाई छाडेर ऊ जेलतिर लाग्यो । एउटा मुस्कानले मेरो ज्यान जोगिएको थियो, अब मैले मेरा बच्चा र श्रीमतीलाई हेर्न पाउने भएको थिएँ ।