• मंसिर ११ २०८१, मंगलवार

दत्तात्रय जन्मदिवस र धान्यपूर्णिमा

पुष ४ २०७८, आईतवार

मार्ग शुक्ल पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । यसदिन धान्य पर्वत दान गर्नु पर्दछ भनी पुराणमा उल्लेख भएको पाइन्छ । दत्तात्रय भगवानको जन्मदिन पनि यही दिन भएको हो । यही पूर्णिमाका दिन रात्रीको समयमा बनेपामा धनेश्वर महादेवको जात्रा गरिन्छ ।

यसै दिन कतिपय नेवारहरुले देवाली पुजा गर्दछन् भने अन्य कतिपयले घरमा गैडु पुजा, गोठ पुजा पनि गर्ने चलन छ ।

मार्ग शुक्ल पूर्णिमाका दिन कुबेर, सुभद्रा, गणेशको पुजा गरी धान्य पर्वत दान गर्नु पर्दछ भनी कुल कल्पतन्त्रान्तरमा यसरी वर्णन गरिएको छ –

मार्ग शीर्षे सिते पिण्डकली निधौ गृही ।

पौर्णमास्यां प्रदोषे तु धान्य क्षेत्रं समर्चयेत ।।

कुबेरं च सुभद्रां च गणेशं पूजयेत तथा ।

इन्द्रं च प्रढौकये दादौ विधिवत पूजनं चरेत ।।

नेवारी संस्कृतिमा पनि यसरी पुराणमा भनिए झैं भगवती, गणेश, कुमारको आकारमा यःमरि बनाई विभिन्न देवदेवीलाई सम्झी नयाँ धानको भकारीमा राखी पुजा गरेर छोपी राख्छन् । चार दिनसम्म पुजा गरेपश्चात चेलीबेटीलाई नखत्या बोलाई प्रसाद खाने र खुवाउने गर्दछन् ।

महामाया भगवतीलाई दशैमा महाकाली, तिहारमा धनलक्ष्मीको रुपमा मान्ने गरिन्छ भने मार्ग शीर्ष पूर्णिमाका दिन धान्य लक्ष्मीको रुपमा मान्ने गरिन्छ । यःमरिको गर्भमा रहेको तील र चाकुलाई महामाया भगवतीको प्रतीकका रुपमा लिइन्छ ।

त्यस्तै भित्र मासु भएको यःमरिलाई गणेशका रुपमा लिइन्छ भने मासको छाँटाको पीठोभित्र भएको यःमरिलाई कुमारको प्रतीकको रुपमा लिने गरिन्छ । हिमवत खण्डमा उल्लेख भएअनुसार–

धनेश्वरं महालिंग भक्त्या पञ्चोमपकारेके

एतस्यां च वरं लब्धा चिरञ्जीब्य भवद् मृगु ।।

अर्थात धनेश्वर महादेव मन्दिरमा (बनेपाको) यस दिन रातभर अखण्डदीप बाली जाग्राम बसी भोलिपल्ट पुजा गरेमा आफ्ना सम्पूर्ण इच्छा आकांक्षा पूरा हुनेछ र चीरञ्जीवी होइन्छ ।