• असार २५ २०८१, सोमबार

परिषदको अध्यक्षमा घर्ती निर्वाचित : कर्मचारीलाई सुविधा दिन कञ्जुस्याइँ गर्न नहुनेमा सहभागीको जोड

पुष ४ २०७८, आईतवार

घोराही, ४ पुस ।
नेपाल विद्यालय कर्मचारी परिषद दाङको अध्यक्षमा गोविन्द घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।

परिषदको शनिबार बाह्रकुनेमा सम्पन्न ११ औँ साधारण सभा एवं पाँचौँ अधिवेशनबाट उपाध्यक्षमा माधवप्रसाद पराजुली, महिला उपाध्यक्षमा लिलाकुमारी वली, सचिवमा तप्तप्रकाश शर्मा, सहसचिवमा निमबहादुर वली, कोषाध्यक्षमा पूर्णबहादुर विक र सहकोषाध्यक्षमा वसन्त कुमाल चयन हुनुभएको हो ।

यसैगरी परिषदका सदस्यहरुमा प्रेमबहादुर कुँवर, देवेन्द्रसिंह ठकुरी, लिला विक र रुकमान घर्तीमगर चयन हुनुभएको छ ।
परिषदका अध्यक्ष गोविन्द घर्तीको अध्यक्षता एवं परिषदका लुम्बिनी प्रदेश उपाध्यक्ष डम्बरबहादुर वलीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

जसमा परिषदका केन्द्रिय सदस्य घनबहादुर रावत, जिल्ला सल्लाहकार लक्ष्मण चौधरी, जिल्ला कोषाध्यक्ष पूर्णबहादुर विक, घोराही उपमहानगर अध्यक्ष वसन्त डिसी, लमही नगर अध्यक्ष छत्र चौधरी र ववई अध्यक्ष लिलाकुमारी वलीलाई सम्मान गरियो ।

विद्यालयको व्यवस्थापन, सरसफाइ, अनुशासन लगायतका आधारभूत सवालहरुमा कर्मचारीको महत्वपूर्ण भूमिका हुने वक्ताहरुको भनाई थियो । कर्मचारीले इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्ने विद्यालयले उन्नती गरेका छन् । ठगीकाम गर्ने र अल्छी कर्मचारी भएका विद्यालयमा झाङ र झाडी हुन्छन् ।

बच्चाहरुले जथाभावी गर्छन् । काममा राम्रो भूमिका भएका कर्मचारीलाई राज्यले विशेष ध्यान दिनुपर्नेमा सहभागीहरुको जोड रहेको छ । साथै सेवा सुविधामा कन्जुस्याइँ गर्न नहुने पनि उनीहरुको भनाइ थियो ।

परिषदका जिल्ला उपाध्यक्ष माधवप्रसाद पराजुलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला सचिव प्रकाश डाँगी, नेपाल राष्ट्रिय शिक्षक संगठनका मिनराज शर्मा, परिषदका केन्द्रिय सदस्य घनबहादुर रावत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण परिषदका सचिव केशव केसीले गर्नुभएको थियो ।