• फाल्गुन २८ २०८२, बिहीबार

गोल ब्रीफिङ : प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठकको आह्वान, सल्लाहकार बनाएकोमा भीम रावलको आपत्ति, काँग्रेस केन्द्रीय सदस्यमा शशांकको अग्रता

पुष ३ २०७८, शनिबार

काठमाडौं । प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठकको आह्वान– प्रधानमन्त्री तथा नवनिर्वाचित काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि (आइतबार) सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजे बस्ने गरि बैठक बोलाइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने गरि बोलाइएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

भानु देउवाका अनुसार विगत तीन महिनायता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लगातार संसद् अवरोध गर्दै आएको र त्यसको अन्त्यका लागि भोलिको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच (हिजो) शुक्रकार भेटवार्ता भएको थियो । भेटमा देउवालाई सभापतिमा विजयी भएकोमा प्रचण्डले बधाई दिँदै देशको समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेका थिए ।
त्यस्तै लगातारको अवरुद्ध संसद् बैठक सञ्चालन गर्ने र त्यसका लागि सर्वदलीय बैठक बोलाउनु पर्ने लगायतका विषयमा छलफल भएको थियो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको आरोपमा एमालेले तत्कालीन वरिष्ठ नेता तथा वर्तमान नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित एमालेबाट निर्वाचित १४ जना सांसदलाई कारबाही गरेको थियो ।

कारबाही गरेलगत्तै उसले संसद् सचिवालयलाई जानकारी पठाएको थियो । यद्यपि सभामुख अग्नि सापकोटाले उनीहरूलाई कारबाही नगरेको भन्दै एमालेले तीन महिनायता लगातार संसद् अवरुद्ध गर्दै आएको छ ।

सल्लाहकार बनाएकोमा भीम रावलको अपत्ति– नेकपा (एमाले)का नेता भीम रावलले आफूलाई नसोधी सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । एमालेले रावलसँग कुनै खबर नै नगरी एकाएक सल्लाहकार परिषद्को सदस्य बनाएको छ ।

उनलाई सल्लाहकार बनाइएलगत्तै रावलले मलाई ‘एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ, उनले भनेका छन्, यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

नेता रावल एमाले १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उमेदवार भएका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएका रावलले हालसम्म पार्टीको कुनै पनि जिम्मेवारी सम्हालेका थिएनन् । अध्यक्षको उमेदवार भए पनि केन्द्रीय सदस्यको उमेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेले जनाएको छ ।

काँग्रेस केन्द्रीय सदस्यमा शशांकको अग्रता– काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा आजदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना)को मतगणना बिहान १० बजेबाट सुरु भएको छ । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

हालसम्मको प्रारम्भिक मतपरिणामअनुसार शशांक कोइरालाको अग्रता कायमै छ । यो ब्रीफिङ तयार पार्दासम्म सभापति पदका आकांक्षी शशांकको ६० मत गणना हुँदा उनले ५९ मत पाएका छन् । शशांकपछि अर्जुननरसिंह केसीले अग्रता लिएका छन् । उनले ४८ मत प्राप्त गरेका छन् ।

यसैगरी गृहमन्त्री बालकृष्ण खाणको पनि अग्रता कायम छ । मतगणनामा हालसम्म ४६ मत प्राप्त गरेका उनी महाधिवेशनमा महामन्त्री पदमा दाबेदार थिए । तर, सभापति देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बनेपछि उनी केन्द्रीय सदस्यमा उम्मेदवार बनेका हुन् ।