काठमाडौँ। नेकपा (एमाले) नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाएको भन्दै आपत्ति जनाएका छन्।
शनिबार ट्वीट गर्दै नेता रावलले आफूलाई नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक रहेको बताएका हुन् । उनले यस्तो टिके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यता विपरीत रहेको उल्लेख गरेका छन् ।
‘मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ’, रावलले ट्वीटमा भनेका छन्, ‘यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’
एमाले अध्यक्षमा पराजित भएपछि रावलले केन्द्रीय सदस्य बन्न अस्वीकार गरेका थिए । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्था अनुसार रावललाई सल्लाहकारमा राखिएको शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एमालेका महासचिव शङ्कर पोखरेलले बताएका थिए।