काठमाडौं । देउवा-प्रचण्डबीच भेटवार्ता– प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । आज (शुक्रबार) बिहान देउवा–प्रचण्डबीच भएको भेटमा देउवालाई सभापतिमा विजयी भएकोमा प्रचण्डले बधाई दिँदै देशको समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेका हुन् ।
प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच भएको भेटवार्तामा अवरुद्ध संसद् बैठक सञ्चालन गर्ने र त्यसका लागि सर्वदलीय बैठक बोलाउनु पर्ने लगायतका विषयमा छलफल भएको हो । भेटवार्ताकै क्रममा प्रचण्डले नेपाल क्रिकेट संघले चार जना क्रिकेट खेलाडीलाई कारबाही गरेको विषयमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
‘प्रधानमन्त्री तथा नवनिर्वाचित सभापति देउवासँगको भेटमा अध्यक्ष कमरेड प्रचण्डले विशेष गरि नेपाली काँग्रेसको महाधिवेशनबाट निर्वाचित सभापतिलगायत अन्य पदाधिकारीलाई सभापतिमार्फत बधाई तथा शुभकामना प्रदान गर्नुभयो,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘भेटको अवसरमा अवरुद्ध सदनलाई अविलम्ब सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दाको समाधानका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो । सोही अवसर अध्यक्ष कमरेड प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको झोकमा एमाले तत्कालीन वरिष्ठ नेता तथा वर्तमान नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित एमालेबाट निर्वाचित १४ जना सांसदलाई कारबाही गरेको थियो । कारबाही गरेलगत्तै उसले संसद् सचिवालयलाई जानकारी पठाएको थियो । यद्यपि सभामुख अग्नि सापकोटाले उनीहरूलाई कारबाही नगरेको भन्दै एमालेले विगत केही महिनायता लगातार संसद् अवरोध गर्दै आएको छ ।
काँग्रेस सहमहामन्त्रीको टुंगो– नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चुन्नका लागि भएको निर्वाचनको मतगणना जारी छ । आज सहमहामन्त्रीको मतगणना सकिएको छ । गत सोमबार सम्पन्न भएको निर्वाचनको मतगणना अनुसार ८ मध्ये महिला, आदिवासी, खसआर्य, मुस्लिम, मधेसी र थारु गरि ६ समूहमा देउवा पक्षले जित हात पारेको छ भने पिछडिएको र दलित समूहमा सभापति पदमा पराजित डा. शेखर कोइराला प्यानलबाट सहमहामन्त्री विजयी भएका छन् ।
महिला र आदिवासी जनजाति समूहमा देउवा पक्षका महालक्ष्मी उपाध्याय (डिना) र भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् भने खसआर्यतर्फ किशोर सिंहराठौर विजयी भएका हुन् । राठौरले कोइराला प्यानलका देवराज चालिसेलाई पराजित गरेका हुन् । मुस्लिम तर्फबाट देउवा पक्षका फरमुल्लाह मन्सुर विजयी भएका छन् भने मन्सुरले कोइराला प्यानलका शेख वकीललाई पराजित गरेका हुन् ।
मधेसी समूहमा देउवा प्यानलका महेन्द्र यादव र थारु समूहमा उमाकान्त चौधरी विजयी भएका छन् भने पिछडिएको समूहबाट बद्री पाण्डे र दलित समूहबाट जीवन परियार विजयी भएका छन् । उनीहरु सबै डा. शेखर कोइराला प्यानलमा छन् ।
चार खेलाडी कारबाही– कारबाहीमा परेका राष्ट्रिय क्रिकेट टोलीका चार जना खेलाडीले आफूहरूमाथि क्यानले कारबाही गरेको भन्दै पत्रकार सम्मेलन गरेका छन् । आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरि खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले आफ्ना सबै इच्छा मारेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी एकाएक कारबाही हुँदा नयाँ पुस्ता क्रिकेटमा आकर्षित हुन नसक्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले ‘के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ? आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?’ क्यानलाई प्रश्न गरेका छन् ।
गत मंसिर २९ गते बसेको क्यान बोर्ड बैठकले कप्तान मल्ललाई हटाएर सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । यस विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका छन् ।
तीन जनाको नेपाली नागरिकता रद्द– हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले तीन जनाको नेपाली नागरिकता प्रमाणपत्र रद्द गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनको आयोजना गरि बैठकको निर्णय सुनाउँदै तीन जनाको नागरिकता रद्द गरेको जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाइएको छ ।