काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले उद्योग क्षेत्रमा महिला र अपाङ्गता भएका व्यक्तिको समेत सहभागिता हुनु आवश्यक रहेको बताएकी छिन् ।
चितवन उद्योग सङ्घले आजदेखि यहाँ सुरु गरेको छैठौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री रेग्मीले औद्योगिक क्षेत्रमा महिला र अपाङ्गता भएकाको समेत सहभागिता आवश्यक रहेको बताएकी हुन् ।
उद्योगलाई महिला र अपाङ्गमैत्री बनाउन सकेमा मात्रै सबै क्षेत्रको सहभागिता हुने उनको भनाइ थियो । उनले भनिन् -“अब स्थापित हुने उद्योग महिला र अपाङ्गमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा सोचेर उनीहरुलाई पनि उद्योगी बनाउन जरुरी रहेको छ ।” प्रदर्शनीले नेपालमा नै केही गर्न सकिन्छ भन्ने देखाउन सहयोग पुग्ने जनाउँदै उनले आफ्नै मुलुकको उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताइन् ।
शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि आफुले सरकारलाई झकझक्याउने उनको भनाइ थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेलले उद्योगका क्षेत्रमा उद्योग सङ्घले गरेका कामको प्रशंसा गर्दै नेपालमा रहेका उद्योगलाई विदेशी उद्योगसँग प्रतिस्पर्धायोग्य बनाउन आवश्यक रहेकोप्रति जोड दिइन् ।