• बैशाख १० २०८२, बुधबार

कोहलपुर मेडिकल कलेजलाई विप्लव नेकपाको एकहप्ते अल्टिमेटम

पुष २ २०७८, शुक्रबार

नेपालगञ्ज । विप्लव नेतृत्वको नेकपा बाँकेले कोहलपुर मेडिकल कलेजलाई बिरामीको उपचारमा हुने गरेका मानवता विरुद्धका विकृति रोक्न अल्टिमेटम दिएको छ । सो पार्टीले सो मेडकल कलेजलाई ७ दिने अल्टिमेटम दिएको हो ।

मेडिकल कलेजले हड्डी तथा पत्थरिको अप्रेसन गर्दा उपचारमा लापरवाही गरेको र पटकपटक अस्पतालमा बिरामी आउनु पर्ने अवस्थाको सिर्जना गरि शोषण गरेको आरोप लगाउँदै नेकपाले यस्ता विकृति रोक्न ७ दिने अल्टिमेटम दिएको हो ।

नेकपाले बिहीबार एक ज्ञापनपत्र अस्पताल प्रशासनलाई हस्तान्तरण गर्दै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विकृतिहरू रोक्न आग्रह गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उदयबहादुर चलाउने‘दिपक’ सहितका नेता र कार्यकर्ताको टोलीले अस्पताल प्रशासनका डाक्टर भोजराज जोसीलाई भेटेर अस्पतालका विकृति एक हप्ताभित्र हटाउन आग्रह गरेको छ ।

ज्ञापनपत्र ग्रहणपछि डाक्टर जोसीले अस्पतालमा कमी कमजोरी भएको स्वीकार गर्दै सम्बन्धित विषयका डाक्टरलाई गल्ती सुधार गर्न आग्रह गर्ने आश्वासन दिए । डाक्टर जोसीले अस्पतालमा यस्ता समस्याहरू पहिलेदेखि आउने गरेको भएपनि सुधार गर्न सचेत जनताको दवाव नपुगेको बताए ।

अस्तपताल प्रशासनलाई ज्ञापनपत्र हस्तान्तरण पछि मेडिकल कलेजको प्राङ्गणमा आयोजित कोणसभामा नेकपाका इञ्चार्ज दिपकले हड्डीको अप्रेसन गर्दा तीनचार पटकसम्म हुने गरेको, प्रयोग गरिएका रडहरूको भ्याट बिल नदिएको, प्रयोगपछि रडहरू बिरामीलाई फिर्ता नगरेको, पुराना रडहरू नयाँ बिरामीलाई चर्को मूल्यमा बेच्दै पुनः प्रयोग गर्ने गरेको लगायतका आरोप लगाए ।

उनले मेडिकल माफियाहरूको चर्को चलखेलले गर्दा औषधि बिक्रीदेखि अस्पतालको औषधि उपचारमा सर्वसाधारणबाट लाखौँ पैसा लुटिएको बताए ।

नेकपाले स्वास्थ्य विमाका बिरामीहरूले मूल्य बढी भएका औषधि बाहिरबाट किन्नुपर्ने, बीमाका गरेका बिरामीको उपचार ढिलो हुने लगायतका तमाम् विकृति भएकोे भन्दै यथाशिघ्र सुधार गर्न माग गरेको छ ।

नेकपाले अस्पताल भित्रका सबै विकृति एक हप्ताभित्रै सुधार नभए त्यसका विरुद्ध थप सङ्र्घषका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।