• असार १६ २०८१, शनिबार

मास्कबाटै यसरी पत्ता लाग्ने भयो कोरोना संक्रमण

पुष २ २०७८, शुक्रबार

काठमाडौं । मास्कले वास्तवमा कोरोना संक्रमण हुनबाट रोक्न सक्छ भन्ने प्रश्न समाधान नभइरहेकै बेला जापानको क्योटो प्रिफेक्चुअल युनिभर्सिटीका वैज्ञानिकले कोरोना संक्रमण भए नभएको जाँच मास्कबाटै गरिने नयाँ तरिकाको खोजी गरेका छन् ।

ती वैज्ञानिकहरुले बनाएको मास्क लगाएर मोबाइलको फ्ल्यास लाइटको माध्यमबाट हेरेमा कोरोना संक्रमण भएको वा नभएको स्पष्ट देखिने जानकारी हुने बताएका छन् । मोबाइलको फ्ल्यास लाइटको अतिरिक्त ‘अल्ट्रा भायोलेट रे’ अर्थात् परावैजनी किरणबाट पनि यसलाई हेर्न र पत्ता लगाउन सकिन्छ ।

यो मास्क भने विशेष किसिमको हुन्छ । यो मास्कको फिल्टर अस्ट्रिचको कोषिकाबाट बनाइएको हुन्छ । मास्कको अघिल्लो तहमा एक फिल्टर राखी त्यसमा फ्लोरिसेन्ट स्प्रे लगाइएको छ ।

यसैमा एन्टीबडी हुन्छ, यो भाइरसको सम्पर्कमा आउँदा बन्द हुने वा खुम्चने गर्छ । यसै कारणले मास्कमा भाइरसको कण देखियो भने परावैजनी प्रकाश चम्किन्छ । मास्कमा देखिने यही चमक स्मार्टफोनको एलइडीमा चहकिलो हुन पुग्छ ।

यसको प्रयोग परीक्षण पनि आश्चर्यकै छ । युनिभर्सिटीका वैज्ञानिकहरुले यो परीक्षणका लागि कोरोना भाइरस पोथी अस्ट्रिचमा प्रवेश गराएका थिए । त्यसपछि भाइरस प्रवेश गराइएको अस्ट्रिचको अण्डाबाट एन्टिबडी निकालेर ‘फ्लोरिसेन्ट स्प्रे’ तयार पारेका थिए ।

यसरी अस्ट्रिचबाट निक्लने एन्टीबडी कयौं किसिमका भाइरस र ब्याक्टेरियाबिरुद्ध काम गर्ने ती वैज्ञानिकहरुले बताएका छन् । यसैलाई लिएर हाल ३२ जना बिरामीमाथि अनुसन्धान प्रयोग भैरहेको छ ।

अनुसन्धानको नेतृत्व गरेका वैज्ञानिक यासुहिरो सुकामोटोका अनुसार मास्कको परीक्षण १० दिनमात्र गरिएको थियो । परीक्षणमा समावेश ३२ कोरोनाका बिरामीमा यो मास्कको प्रयोग गरिएको थियो ।

कोरोना संक्रमित बिरामीमा प्रयोग गरिएको मास्कमा सुरुमा मोबाइलको प्रकाशमा हेर्दा निकै धेरै चमक आएको थियो । तर जब बिरामी निको हुँदै गए, प्रकाशमा हेर्दा मास्कमा चमक आउन पनि क्रमशः छाड्दै गएको थियो ।

हाल यो मास्क दोस्रो चरणको परीक्षणमा रहेको छ । यसको सफलताले अबका दिनमा पिसिआर परीक्षण नगरिकनै मास्कका माध्यमबाट कसैलाई कोरोना महामारीको संक्रमण भएको छ कि छैन भनी थाह पाउने सकिने भएको छ ।

वैज्ञानिकहरुका अनुसार यो मास्क सन् २०२२ मा बजारमा आउने अनुमान गरिएको छ । कोरोनाजस्ता महामारीले कम्तिमा पनि १० वर्षसम्म सताइरहने भएकाले यो मास्क बजारमा आएपछिका आगामी सातआठ वर्षसम्म विश्व मानव समुदायले यसको समुचित प्रयोग गर्ने आशा लिइएको छ ।