कृषि प्रधान देशका नेवारहरु विशेष गरेर ज्यापुहरुको मुख्य पेशा भन्नु नै खेती गर्नु हो । नयाँबाली घरमा भित्र्याएर नयाँ धानको चामलको पिठोबाट यःमरि बनाएर खाने गर्दछन् । यःमरि बनाउनेमा पनि आफ्नै पन रहेको पाइन्छ ।
नयाँ धानको चामलबाट बनाइने चामलको पिठो लस्सादार हुनु पर्छ । पहिला पहिला तौली धानको चामल हुन्थ्यो । अब आएर ताइचिन चामलको पिठो प्रयोग गर्न थालियो । चाकु र पिसेको तिल राखेर बनाइने शंख आकारको यःमरिलाई ‘बायो’ भनिन्छ ।
तीनकुने आकारकोलाई ‘मायो’ भनिन्छ । मायोभित्र चाकु र तिल राखिंदैन । यो ‘मायो’, ‘बायो’ भनेको सृष्टिको आदि पुरुष र आदि शक्ति आमा र बाबु अर्थात् पुरुष र स्त्रीको प्रतीक हो । यसरी रमाइलो दर्शन लुकिरहेको यःमरि बनाई यःमरि पूर्णिमाका दिन नयाँ धान राख्ने भकारी माथि यःमरि राखेर पुजा गर्ने चलन नेवारहरुको आफ्नै मौलिक संस्कार हो ।
भकारीलाई लक्ष्मी मानेर पुजा गरिन्छ । पुजा गर्दा चामलकै पिठोबाट गणेश, लक्ष्मी, कुबेर र यिनै देवताका बाहन मुसा, कछुवा र ख्याक पनि बनाई राख्ने चलन छ ।
परापूर्वकालदेखि नेवारहरुले बनाई खाँदै आइरहेको यो यःमरिमा लुकिरहेको अर्को दर्शन भनेको हाम्रा पुर्खाहरुले हामीलाई र हाम्रा बालबच्चाहरुलाई एक किसिमले चित्रकला, मूर्तिकला र सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्ने मौका प्रदान गरिरहेको छ भने बाल बालिकाले पनि यःमरि बनाउन सिक्ने क्रममा आफ्नो कला र प्रतिभा पनि प्रस्तुत गर्ने अवसर पाइने हुँदा उनीहरु अत्यन्तै हर्षित भई यःमरि र विभिन्न किसिमका देवता र जनावरका मूर्ति बनाउने प्रयास गरिरहेको हुन्छन् ।
यस्ले गर्दा केटाकेटीहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त भइरहेको हुन्छ । पछि गएर उनीहरुले आफ्नो संस्कारलाई उपयोगमा ल्याई आफ्ना बच्चाहरुलाई पनि सिकाइरहेको हुन्छन । यःमरि बनाउँदा ल्वहंचा मरि पनि बनाइन्छ । ल्वहंचा मरि र ससाना यःमरि बनाई देवतालाई पुजा गर्दा चढाउने गरिन्छ ।
उयपत्यकाका विभिन्न देवताका रथयात्रा र खट जात्रा गर्दा पनि ल्वहंचा मरि, चटामरि र यःमरि वरिपरि घरका झ्यालबाट छरेर देवतालाई अभिषेक गर्ने चलन छ । त्यसरी छरेका यःमरि जस्ले हात पार्न सक्यो उसलाई पुत्रलाभ हुन्छ भन्ने जनविश्वास छ ।
बालकहरुको २, ४, ८ र १२ वर्षको जन्मोत्सवमा पनि यःमरिको माला बनाई पहि¥याई दिने चलन छ । यो संस्कारले के सिकाइरहेको हुन्छ भने बालकहरु होशीयारी गर्दै हेर अब तिमी यति बर्षका भयौ तिमीले यस्तो गर्नु पर्छ, यस्तो गर्नु हुन्न भन्ने शिक्षा दिने गरिन्छ जुन अत्यन्तै व्यवहारिक छ भन्न सकिन्छ ।
बालक जति बर्ष पुगेको हो त्यति नै ओटा यःमरिको माला बनाई पहि¥याइन्छ । १२ बर्ष पुग्दा पहि¥याउने १२ ओटै यःमरिमा चाकु राखिएको हुन्छ भने २, ४ र ८ ओटा यःमरि पहि¥याई दिंदा उक्त यःमरिभित्र पाँच गेडा अक्षता मात्र राख्ने चलन छ । यसरी पाँच गेडा अक्षता राख्नुको अर्थ पञ्चतत्व वा पञ्चबुद्धको प्रतीकको रुपमा लिंदै आएको छ ।
यःमरिलाई पनि पञ्चतत्वकै रुपमा लिइएको पाइन्छ । अग्नि, जल, वायु, आकाश र धर्तिलाई पञ्चतत्व भनिन्छ । यःमरि भित्र धर्तिको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलका रुपमा पानी, आकाशका रुपमा खाली स्थान र वायुका रुपमा तिललाई लिइएको छ ।
आयुर्वेदिक मान्यता र आधुनिक चिकित्साको मान्यता अनुसार पनि यःमरि स्वास्थ्यवर्द्धक र पौष्टिकताले भरिपूर्ण खाद्यको रुपमा लिइन्छ । जाडो याममा पर्ने यःमरि पूर्णिमाको समयमा बढ्दो चिसोबाट बच्न आवश्यक कार्बोहाइड्रेट प्राप्त हुने यःमरि खानाले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा पुग्ने र यसका साथै यःमरिमा रहेको चाकुले हाम्रो स्वास्थ्यमा हेमोग्लोबिन कमी हुन नदिने भएकोले यःमरि निकै नै स्वास्थ्यवर्द्धक छ ।
यःमरि उर्जावान र बढी पौष्टिकता भएकै कारणले गर्दा नै नेवारी संस्कारमा गर्भवती चेलीलाई खुवाउने गरिन्छ । यसले गर्भमा रहेको शिशुको स्वास्थ्यमा पनि पौष्टिकता प्राप्त हुन पुग्छ । बालकको जन्म दिन, बुढा बुढीहरुको जंक्व (बुढो पास्नी), गुथिको समयमा पनि विशेष गरी यःमरि खाने र खुवाउने गरिन्छ । जाडो समयमा मात्र चाड मानेर खाँदै आइरहेको यःमरि हाल आएर बाह्रै महिना जताततै खान पाइन्छ । नेवारी खाजा घरमा जताततै यःमरि पनि बेच्ने गरिन्छ ।
यःमरि पूर्णिमाका दिन घरै पिच्छे केटाकेटीहरु गएर गीत गाउँदै यःमरि माग्न जाने चलन छ, देउसी-भैलो मागेजस्तै । अहिले आएर समयको परिवर्तनसँगै केटाकेटीहरुले यःमरि मागेर खाने चलन शहरमा हराउँदै गए पनि गाउँघरमा अझै देखिन्छ ।
विश्वमैं प्रख्यात नेवारी संस्कृति, परम्परा र संस्कारको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले ज्यापु संस्कृति विकास कोष र ज्यापु महागुथिको संयुक्त प्रयासमा २०६१ सालदेखि यःमरि पूर्णिमाको दिनलाई ज्यापु दिवसको रुपमा मान्दै आएको छ । नेपाल सरकारले पनि ज्यापु दिवसलाई राष्ट्रिय दिवसका रुपमा मान्यता दिएर सार्वजनिक विदा समेत दिंदै आएको छ ।