काठमाडौं । न्युजिल्यान्डमा सन् २००८ पछि जन्मिएका कसैले पनि आजीवन चुरोट या सूर्तिजन्य उत्पादन खरिद गर्न नपाउने कानुनी प्रावधान लागु गरिएको छ । आगामी एक वर्षका लागि परीक्षण कालका रुपमा यो प्रावधानलाई राखिएका कारण आउने वर्षबाट मात्र यो लागू हुने छ ।
आउँदा युवा पिढीबाट धुम्रपानलाई बिदाइ गर्ने लक्ष्यका साथ यस नीति तथा कार्यक्रमलाई प्राथकितामा राखिएको छ । धुम्रपान त्यहाँको सरकारले सोचे झैं निर्मूल हुन्छ वा हुँदैन त्यो त हेर्न बाँकी छ । तर यसले साहसिक कदम भने अघि सारेको छ ।
त्यहाँका डाक्टर तथा स्वास्थ्य विशेषज्ञ भन्छन्, ‘हामी अबका युवाहरुले कहिल्यै पनि चुरोट पिउन सुरु नगरुन् भन्ने सुनिश्चित गर्न चाहन्छौँ ।’ धुम्रपानमाथि कडाइ नीति अन्र्तगत न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले बिहिबार यस्तो घोषणा गरेर विश्वलाई चकित पारेको छ ।
नयाँ नियमसँगै सरकारले सूर्तीजन्य पदार्थ बिक्रिमा क्रमशः रोक लगाउन पनि थालेको छ । यो कानुनको कार्यान्वयमा के गरी थप प्रभावकारिता ल्याउन सकिन्छ भन्नेमा सरकारले आम जनतासँग गुनासा, सल्लाह र उजुरी पनि सुन्ने गरिरहेको छ । यो विषय जनताका बीचमा बहसको विषय बनिरहेको छ ।
यसका साथै स्वास्थ्य मन्त्रालय र यस मातहतका विभिन्न निकाय तथा सम्बन्धित अन्य संघ संस्थाहरुले देशबाट हाल स्टोर गरिएका सूर्तिजन्य पदार्थ हटाउन पहल गरिरहेका छन् । कानुन बनिसकेको र यसको प्रभाकारितामा ध्यान दिन थालिसकिएकाले यति बेला जनस्तरबाटै सरकारलाई सहयोगको आवश्यकताको बोध भएको महसुस हुन थालेको छ ।
अबका दिनमा डान्स बार, रेष्टुरेन्ट, होटल तथा चिया पसलहरुमा निगरानी बढाउँदै लगिने भएको मन्त्रालयले पनि सार्वजनिक सूचना सम्प्रेषण गरिरहेको छ । सुपरमार्केट र स्टोरहरुमा पनि सूर्तिजन्य पदार्थ भण्डारणको खोजी गरी हटाउने कार्य थालनी भैसकेको छ । कार्यक्रम कार्यान्वयनको सुरुको चरणमा चुरोट बिक्री गर्न पाउने स्टोरहरुको संख्या ८ हजारबाट घटाएर ५०० मा सिमित गरिएको छ ।
विश्वबाटै यो नयाँ अभियानको खुलेर स्वागत भैरहेको छ । साथै, विश्वस्तरीय सुधार को नाम दिएर यसमा ऐक्यबद्धता पनि जनाइएको छ । धुम्रपान तथा सूर्तिजन्य पदार्थबाहेक अन्य निकोटिनजन्य खाद्य वस्तुहरुमा पनि चेकजाँच गरिने नियममा व्यवस्था गरिएको छ ।
सोधसंस्था र विश्वविद्यालयहरुले न्युजिल्याण्डको थालेको यो अभियानले ‘मानिसलाई या त धुम्रपान छाड्न वा त्योभन्दा कम हानिकारक वस्तुको प्रयोगमा बानी बसाल्नेछ’ भन्ने कुराको अपेक्षा गरिरहेका छन् । यसका लागि चरणबद्ध कार्यक्रमको घोषणा गरिएको छ । जस अनुसार सन् २०२५ सम्म धुम्रपानको दरमा ५ प्रतिशतले कमी आउने र याो अभियान बिस्तारै देशव्यापी बनाउँदै लगिने छ ।
हालैको तथ्यांकअनुसार न्युजिल्यान्डका करिब १३ प्रतिशत वयस्कहरुले धुम्रपान गर्दै आएका छन् । यो भन्दा अघिको एक सर्भेमा त्यहाँका १८ प्रतिशत युवाहरुले धुम्रपान गर्ने गर्दथे । हालैको वर्षमा यो घटेर १३ प्रतिशतमा झरेपछि सरकार र सरकारी संयन्त्रहरु निकै उत्साहित भएका छन् । हाल न्युजिल्याण्डमा धुम्रपानका कारण चारमध्ये एकजनामा क्यान्सर हुने र ५० लाख बढीको ज्यान जाने गरिरहेको सरकारी आँकडा छ ।