• मंसिर १३ २०८१, बिहीबार

बजेट अभावले रोकियो जनता आवास कार्यक्रम

पुष २ २०७८, शुक्रबार

काठमाडौं । बजेट अभावका कारण सुदूरपश्चिम प्रदेशमा चलिरहेको जनता आवास कार्यक्रम अहिले स्थगित हुन पुगेको छ । संघीय सरकारले आवश्यक बजेट प्रवाह नगरिदिए पछि जनता आवास कार्यक्रम अन्तर्गत थप घर निर्माणमा समस्या उत्पन्न हुन गएको छ ।

अभियानको पहिलो वर्ष अर्थात् आर्थिक वर्ष २०७६/०७७ मा कोरोना महामारीका कारण घरधुरी छनौट गर्न नसकिए पनि दोस्रो वर्ष २०७७/०७८ मा भने घरधुरीको छनौट भइसके पनि बजेट अभावका कारण काम सुचारु हुन सकिरहेको छैन ।

यस आर्थिक वर्षमा विशेष गरी कैलाली र कञ्चनपुरमा छनौट भएका ४३७ घरधुरी अहिले पनि आवास निर्माणको चरणमा छन् । सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार कैलालीमा मात्र २०० घर र कञ्चनपुरमा २३७ घर निर्माणको चरणमै रहेका छन् ।

प्रत्येक घरधुरीका लागि जनता आवास निर्माण कार्यक्रम अन्तर्गत कार्यालयले प्रतिघरका लागि ३ लाख ३६ हजार रुपैयाँका दरले सम्बन्धित घरधनीलाई आर्थिक सहयोग गर्नुपर्ने छ । काम सुरु हुने आशामा अहिलेलाई पहिलो किस्ताबापत ९० हजार रुपैयाँ दिलाइ सकिएको छ ।

आवास निर्माणको मापदण्ड अनुसार काम हुँदै जाँदा दोस्रो र तेस्रो किस्ता क्रमशः उपलब्ध गराउने योजना रहेको छ । यसका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुु आर्थिक वर्षमा जनता आवास कार्यक्रमका लागि १० करोड ८१ लाख रुपैयाँ बजेट निर्माण र विनियोजन गरिसकेको छ ।

विनियोजित बजेट मन्त्रालयमार्फत् निकासा भै कैलालीका लागि पाँच करोड ७६ लाख र कञ्चनपुरका लागि पाँच करोड पाँच लाख बजेट सहरी विकास तथा भवन निर्माण कार्यालयको खातामा आइसकेको छ । भवन निर्र्माण कार्यालयका अनुसार अहिले बजेट अभाव देखिएकाले आएको बजेटले जनतन निर्माण भैरहेका आवासका लागि धाने पनि नयाँ निर्माण भने गर्न नसकिने अवस्था छ ।

जनता आवास कार्यक्रम अन्तरगत कैलाली र कञ्चनपुर दुबै जिल्लामा ७ सय ५६ घर निर्माण गरिने लक्ष्य राखिएको छ । लक्ष्य अनुसार हाल ४३७ घर निर्माणको क्रममा रहे पनि बाँकी ३१९ घर भने अझैं पनि छनौटको प्रक्रियामा रहेका छन् । कार्यालयका अनुसार अहिले याो आर्थिक वर्षमा सबै आवास छनौट गरिसकिए पनि दोस्रो चरणमा छनौट गरिएका आवास निर्माणका लागि बजेट नपुग्ने देखिएको छ ।

यस अघि आर्थिक वर्ष २०७५/०७६ मा छनौट भएका १७१ मध्ये १६७ घर निर्माण सम्पन्न भैसकेका छन् । यीमध्ये कैलालीमा ६७ र कञ्चनपुरमा १०० आवास रहेका छन् ।