• मंसिर २० २०८१, बिहीबार

उनीहरुले संधै जिते, देशले संधै हार्यो

पुष २ २०७८, शुक्रबार

रामबहादुरले जित्दा
श्यामबहादुरले हार्यो
श्यामबहादुरले जित्दा
रामबहादुरले हार्यो
दशकौंदेखि मेरो देश
श्यामबहादुर र रामबहादुरको
मात्र रणमैदान बन्यो ।

कहिले रामबहादुर सत्तामा उक्लियो
कहिले श्यामबहादुर सत्तामा उक्लियो
तर देश कल्यिै उँभो लागेन ।

कहिले के प्रसादले जित्यो
कहिले के कुमारीले जितिन्
उस्ले, उनीहरुले, उहाँहरुले संधै जिते
तर देशले कहिल्यै जितेन ।

हिजो पनि उनीहरुले नै जित्थे
आज पनि उनीहरुले नै जित्छन्
हिजो र आजको बिचमा
मेरो देशको मानचित्रबाट
महाकालीले हार्यो
सुस्ताले हार्यो
कालापानीले हार्यो
अब पनि उनीहरुले जितिरहे भने
मेरो देशले नै हार्छ ।

रामबहादुरले घाम बोक्यो
घाम निलिदियो
श्यामबहादुरले सपना बोक्यो
सपना निलिदियो,

त्यसैले ए धर्ती
एउटा एस्तो मान्छे जन्माइदेऊ
जस्ले जित्दा संसारले जितोस्
जस्ले हार्दा संसार हारोस्
एउटा यस्तो घाम उदाइदेऊ
ए क्षितिज
जो झुल्किँदा संसार उज्यालो होस् ।

हामी आजित छौं
रामबहादुर र श्यामबहादुरतन्त्रसँग
त्यसैले
आऊ सधैं देशले जित्ने
सधैं जनताले जित्ने
एउटा ब्यवस्था बनाऔं ।
२०७८-०९-०२