• मंसिर १० २०८१, सोमबार

बुढो दलमा पुस्तान्तरणको सन्देश : गुट होइन, विवेकको प्रयोग

पुष २ २०७८, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनामा २०४६ को राजनीतिक परिवर्तनपछि उदाएका दुई युवा नेता काँग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन् ।

काँग्रेसभित्र पुस्तान्तरण र रुपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा थापा र शर्माले महामन्त्रीमा जित निकाल्नेमा धेरैले आशंका गरेका थिए । महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेकको प्रयोग गर्दै शर्मा र थापालाई महामन्त्रीमा निर्वाचित गरेर पुस्तान्तरणको सन्देश दिएका छन् ।

हिजोसम्म पार्टीका नेताहरूलाई प्रश्न गरेर नेता तथा कार्यकर्तामाझ आफूलाई स्थापित गर्दै आएका थापा र शर्मा अब जवाफ दिने ठाउँमा पुगेका छन् । पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्न नसकेको भन्दै नेतृत्वमाथि निरन्तर खबरदारी गर्दै आएका उनीहरू निर्णय गर्ने ठाउँमा पुगेका छन् ।

काँग्रेस महामन्त्रीका रूपमा थापा र शर्माको भूमिकाले युवापुस्ताप्रतिको आशा र भरोसासमेत निर्धारण गर्नेछ । यो समाचार नागरिक दैनिकमा छ ।