• बैशाख १० २०८२, बुधबार

गोल ब्रीफिङ : ओलीलाई प्रचण्डको चुनौती, काँग्रेस महामन्त्रीमा उर्जावान युवा नेताको आगमन, मन्त्रीको राजीनामा

पुष १ २०७८, बिहीबार

काठमाडौं । ओलीलाई प्रचण्डको चुनौती– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि शेयर बजार साम्राज्यवादको विकसितरूप भएको टिप्पणी गरेका थिए । उक्त टिप्पणीलाई लिएर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिजो (बुधबार) शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड लेनिनभन्दा जान्ने भन्दै प्रतिक्रिया दिएका थिए ।

सम्बोधनकै क्रममा ओलीले प्रचण्डलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँचबुँदे सहमति गरेको आरोपसमेत लगाए । ओलीले लगाएको आरोपको भोलिपल्ट अर्थात् आज (बिहीबार) विहान एक विज्ञप्ति जारी गर्दै आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।

ओलीले ‘युद्धकालमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति गरेका थिए, भनेका थिए ।’ उनको यो अभिव्यक्तिलाई लिएर आज बिहान विज्ञप्ति जारी गरी प्रचण्डले उनलाई उक्त आरोप प्रमाणित गर्न अन्यथा जनतासामु माफी माग्न चुनौती दिएका हुन् ।

प्रचण्डद्धारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँचबुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनीतिक चरित्र मात्र प्रदर्शन गरेका छन्’, प्रचण्डले वक्तव्यमा भनेका छन्, ‘म केपी ओलीलाई ‘पाँचबुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

एमाले अध्यक्ष ओलीलाई विज्ञप्तिमार्फत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको चुनौतीको खण्डन ओलीले अहिलेसम्म गरेका छैनन् । प्रेस चौतारीका इञ्चार्ज एवम् ओलीका प्रियपात्र सूर्य थापालाई सोध्न खोज्दा उनले यस विषयमा केही बोल्न चाहेनन् ।

काँग्रेस महामन्त्रीमा उर्जावान युवा नेताको आगमन– नेपाली काँग्रेसको जारी १४औँ महाधिवेनबाट महामन्त्रीमा आशालाग्दा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । उनीहरू निर्वाचित भएसँगै काँग्रेसमा थप आशाको त्यान्द्रो पलाएको छ । यद्यपि सभापतिमा भने पुरानै अनुहार प्रधानमन्त्री शेरबहादुर देउवा दोहोरिएका छन् ।

आज विहानदेखि सुरु भएको महामन्त्रीको मतगणना दिउँसो सकिएको थियो । उक्त मतपरिणामअनुसार गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै, महामन्त्रीका अन्य उमेदवारहरू डा.प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा.मीनेन्द्र रिजालले ८०९ र डा.राजाराम कार्कीले १०६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

मन्त्रीको राजीनामा– रक्षामन्त्री मिनेन्द्र रिजालले आजै मन्त्री पदबाट राजीनामा दिएका छन् । काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा दिने घोषणा गरेका हुन् । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

पहिलो चरणको १०० मतको मतपरिणाम आए अनुसार रिजालले जम्मा २१ मत पाएका थिए । जबकि उनकै प्यानमा रहेका गगन थापाले ७० मत पाएका थिए । आफू पराजय उन्मुख देखिएपछि राजीनामा दिने घोषणा गरेका थिए । रिजालले मन्त्री पदबाट राजीनामा दिएको केही घण्टा पश्चात् प्रधानमन्त्री देउवालाई राजीनामा पत्र बुझाएर बाहिरिएका छन् ।