• असार १६ २०८१, शनिबार

मलेरिया र टीबी हटाउन सके त्यो मेरालागि अन्तरीक्ष प्रतिस्पर्धा भन्दा ठूलो सफलता हुनेछ : बिल गेट्स

पुष १ २०७८, बिहीबार

विश्वका धनाढ्यहरु एलन मस्क र जेफ बेजोस अन्तरीक्ष प्रतिस्पर्धामा रहँदा अर्का धनाढ्य बिल गेट्स भने आफू अन्तरीक्ष प्रतिस्पर्धामा सामेल नहुने बताएका छन् । उनले अन्तरीक्ष प्रतिस्पर्धामा गरिने खर्बौं डलर पृथ्वीमा मानव जातिले सामना गर्नु परिरहेका मलेरिया र टिबीजस्ता महारोग उन्मूलन गर्ने कार्यमा लगाउने उद्घोष गरेका छन् ।

स्पेस एक्सका एलन मस्क र ब्लु ओरिजिनका जेफ बेजोस दुवै केही समयदेखि कडा अन्तरीक्ष प्रतिस्पर्धामा छन् । उनीहरुले धनाढ्य मानिसलाई अन्तरीक्ष यात्रामा पठाउने पनि गरिरहेका छन् । उनीहरु दुवैले चन्द्रमालाई पृथ्वीबाट मानिस सजिलैसँग आवतजावत गर्न सकिने थलोका रुपमा विकसित गर्न र त्यसका लागि आवश्यक पहुँच पुर्याउन अथक प्रयत्न गरिरहेका छन् ।

यसका साथै अन्य ग्रहहरुमा जीव, जीवन, पानी, अक्सिजन आदिको खोजीका लागि पनि आफ्नो अनुसन्धानलाई जारी राखिरहेका छन् । मंगल ग्रहमा अमेरिकी यान तथा चिनियाँ यान पुगेर खोजी गरिरहेको सन्दर्भले प्राइभेट प्रयत्नमा लागि परिरहेका उनीहरुलाईै निकै उत्साहित बनाउँदै लगिरहेको छ ।

तर अन्तरीक्ष प्रतिस्पर्धा असाध्यै महंगो र निकै जोखिम युक्त बन्दै गैरहेको छ । अन्तरीक्षमा भैरहेको यो प्रतिस्पर्धाले वायुको ओजोन तह विनास त गरिरहेको छ नै, त्यसमा पनि अन्तरीक्षमा थप प्रदुषण पनि फैलाइरहेको छ । पछिल्लो समयमा यो प्रुषण फैलाउने कार्यको विरोध गरिने प्रक्रिया सुरु गरिएको छ ।

यस्तो बेलामा पृथ्वीमा रहेका मलेरिया र टिबी हटाउने अभियानमा आफू प्रतिबद्ध भएर लाग्ने बिल गेट्सले सार्वजनिक गरेका छन् । विश्वका चौथो सबैभन्दा धनी बिल गेट्सले पृथ्वीमै अन्तरीक्षभन्दा ठूला लक्ष्यहरु पूरा गर्न बाँकी रहेको कुरामा जाोड दिएका छन् ।

उनका अनुसार अन्तरीक्षको दौडभन्दा अफ्रिका महादेशभर प्रभावकारी इन्टरनेट कनेक्सन गरिनु धेरै राम्रो कुरा हो । किनकि, अन्तरीक्ष प्रतिस्पर्धा व्यवसायिक बजारका लागि हो, तर नेटवर्क कनेक्सन सेवाका लागि । उनको सपना छ, स्याटलाइटमार्फत् अफ्रिकाको कृषि अवस्था र जलवायु परिवर्तनबारे निगरानी गर्न मात्र सकियो भने पनि त्यो मानव र मानवताका लागि ठूलो कुरा हो ।

यसो गरेर अबका दिनमा विश्वका धनाढ्यहरुले सर्वसाधरणमाथि ठूलो प्रभाव पार्ने काम गर्ने छन् । गेट्सका अनुसार यस्तो काम गरेर धनीहरुले समाजबाट लगेको सम्पत्ति समाजलाई नै फिर्ता गर्नेछन् । उनको दावा छ, यस्ता मानिसहरुसँग करोडौं सर्वसाधरणको भन्दा धेरै धन र क्षमता छ । गेट्सको सदाशयता छ, यी धनाढ्यहरुले यति ठूलो क्षमता र धन आफू एक्लैले मात्र उपभोग गर्ने लोभ नगरुन् ।

उनले आफ्नो मिसन स्पष्ट रुपमा राखे, ‘जबसम्म मलेरिया, टीबी लगायतका रोग गरिब देशहरुमा भयावह बनिरहने छन् र त्यसबाट संसारलाई पूर्ण रुपमा मुक्त पार्न सकिदैन, मेरो ध्यान यसैमा केन्द्रित रहिरहने छ ।’

हाल बिल गेट्स ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ मार्फत् आफ्ना सेवाका काम सञ्चालन गरिरहेका छन् ।

(एजेन्सीको सहयोगमा)