• असार २३ २०८१, शनिबार

दाङमा धमाधम लिफ्ट सिंचाई : ५६ हजार हेक्टर जमिन सिंचित

पुष १ २०७८, बिहीबार

दाङ, १ पुस ।
दाङको धेरै जसो भूभाग खेतीयोग्य जमिनले ओगटेको छ । यदि सिंचाई सुविधा प्रसस्त हुन सकेमा जिल्लामा कृषिजन्य व्यवसायका लागि राम्रो सम्भावना रहेको बृहत दाङ उपत्यका सिंचाई आयोजना तुलसीपुरले जनाएको छ । खेतीयोग्य जमिनको सबैजसो ठाउँमा सिंचाईको अभावका कारण खेतीयोग्य जमिन बाँझो अवस्थामा छन् । सिंचाई नभएकै कारणले सोचे अनुसार कृषिजन्य वस्तु उत्पादन हुन सकिरहेको छैन । सिंचाई आयोजनाले जिल्लामा ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य अनुसार काम भैरहेको जनाएको छ ।

आयोजनाले दाङमा दशवर्षे रणनीतिक योजना बनाएर काम गरिरहेको आयोजना प्रमुख राजु आचार्यले जानकारी दिए । आर्थिक वर्ष ०७४-०७५ देखि सुरु भई ०८३-८४ सम्म लागु हुनेछ । यसले जिल्लाका अधिकांश कृषकहरुको जीवनस्तर माथि उठ्ने उनको भनाई छ । जिल्लामा आफूहरुले आर्थिक वर्ष ०७४÷७५ देखि काम गर्न थालेको जानकारी दिंदै उनले जलासय, लिफ्टिङ र डाईभर्सन मार्फत् ५६ हेक्टर जमिनमा वर्षैभरी सिंचाई पुर्याउने लक्ष्य राखेको बताए ।

सोही अनुसार जिल्लाका घोराही, तुलसीपुर, दंगिशरण, बबई र शान्तिनगरमा ठूला–ठूला जलाशय निर्माण तथा लिफ्ट सिंचाई आयोजना सञ्चालन र निर्माणधिन अवस्थामा रहेको आयोजना प्रमुख आचार्यले बताए । यस्तैगरी माडी डाईभर्सनको अध्ययन गर्ने तयारी भएको छ भने शारदा दाङ डाईभर्सनको अध्ययन भईसकेको उनले बताए । सोताका रुपमा रहेका विभिन्न क्षेत्रलाई अहिले जलाशय, ड्याम बनाउने कामहरु भएका छन् । जिल्लामा अहिले कतिपय सिंचाई आयोजना सम्पन्न भईसकेका छन् भने केहि निर्माणाधिन अवस्थामा रहेका छन् ।

दुधेगजेरी जलाशय :

तुलसीपुर १८ र १९ को सिमानामा पर्ने दुधेगजेरी जलाशयको निर्माण कार्य भईरहेको छ । त्यस क्षेत्रका ६० हेक्टर खेतीयोग्य जमिनमा सिचाई पुर्याउने लक्ष्यका साथ जलाशय निर्माणको काम भईरहेको आयोजना प्रमुख आचार्यले जानकारी दिए । उनले अहिले सम्म ३० प्रतिशत काम भएको बताए । केही वर्ष पहिले डिपीआर गरी अहिले जलाशय निर्माणको काम भईरहेको छ । जलाशय निर्माण हुँदै गर्दा स्थानीय कृषक खुशी भएका छन् । प्रसस्तै खेतीयोग्य जमिन भएपनि सिंचाईको समस्या भोग्दै आएका त्यसक्षेत्रका बासिन्दाहरु जलाशय सम्पन्न भई सञ्चालनमा आएपछि सिंचाईको समस्या समाधान हुने बताउँछन् ।

भोजपुर सोलार लिफ्ट सिचाई आयोजना :

तुलसीपुर १४ भोजपुरमा झण्डै चालिस घरधुरीको मानव बस्ती छ । जुन बबई नदिको आसपास पूर्वपश्चिम क्षेत्र अर्थात् नदिको सतहदेखि झण्डै पचास मिटर उचाईमा रहेको खेतीयोग्य जमिनमा सधैं सिचाईको अभाव हुने गरेको थियो । तर बृहत दाङ उपत्यका सिंचाई आयोजना मार्फत् त्यहाँ अहिले सोलार लिफ्टिङ गरी सिंचाईको सुविधा पुर्याईएको छ । जसले गर्दा स्थानीयलाई अहिले खेतीपाती गर्न सहज भएको स्थानीय होताराम खत्रीले बताए । त्यसक्षेत्रको झण्डै २५ विगाहा जमिनमा अहिले बाह्रैमहिना सिंचाई गर्न सहज भएको छ । यसअघि सिंचाई सुविधा नहुँदा वर्षातको समयमा मात्रै मकैखेती हुँदै आएको बताउँदै उनले अहिले सिंचाईको समस्या नभएको बताए तर अहिले सिंचाई सुविधा पुगेपछि मकैखेतीसँगै तरकारी खेती समेत भईरहेको उनले बताए । बबई नदिको पानीलाई लिफ्ट गरेर भोजपुरको गनारीमा सिंचाई सुविधा पुर्याईएको छ । ७९ लाखको लागतमा उक्त आयोजना सम्पन्न भएको आयोजना प्रमुख राजु आचार्यले जानकारी दिए । सोलारको क्षमता १५ किलोबाट रहेको छ । ३९ वटा सोलार पाता जडान गरिएको छ । बबई नदीबाट लिफ्ट गरी झण्डै एकसय मिटर माथी पानी पुर्याईएको उनले जानकारी दिए । बबई नदिबाट पानी तानेर एउटा ओभर हेड टंकी, ईन्टेक, पाईप लाईन विस्तार र सिंचाई कुलो निर्माण गरिएको छ । उक्त आयोजनाबाट पन्ध्र हेक्टर जमिनमा सिंचाई गर्न पुगेको छ ।

पृथली जलाशय :

तुलसीपुर १८ दुधरासको उत्तरतर्फ पृथली जलाशय सिंचाई आयोजना निर्माणाधिन अवस्थामा रहेको छ । साढे तीन विगाहा जमिनमा जलाशय निर्माण गरिएको छ । झण्डै पाँच–छ मिटर गहिराई रहेको छ । एक करोड लागतमा निर्माण हुन लागेको जलाशयबाट ४५ हेक्टर खेतीयोग्य जमिनमा सिंचाई पुर्याउने लक्ष्य पृथली कुईरेसोता जलाशय जल उपभोक्ता समितिको कोषाध्यक्ष तुलप्रसाद खलालले बताए । यस क्षेत्रमा १ सय ६० घरधुरी रहेको र उक्त आयोजनाबाट छ सय बढि जनसंख्या लाभान्वित हुने उनले बताए । यसअघि सोता रहेको उक्त ठाउँमा बृहत दाङ उपत्यका सिंचाई आयोजना मार्फत् जलाशय ड्याम निर्माण हुन लागेको हो ।

सरेसोता जलाशय :

घोराही उपमहानगरपालिका वडा नम्बर २ र ३ को सिामानामा पर्ने सरेसोता जलाशय निर्माण भएको छ । एक करोड लागतमा निर्माण हुन लागेको सो जलाशयमा हालसम्म ७८ लाख खर्च भईसकेको आयोजना प्रमुख आचार्यले बताए । यस जलाशयको क्षमता ३२ हेक्टर जमिनमा सिंचाई गर्न पुग्नेछ । उक्त आयोजनाबाट घोराही ४ ओतर, बारहाँगे लगायतका ठाउँमा सिंचाई गर्न सहज हुने सरेसोता जलाशय आयोजना उपभोक्ता समितिका उपाध्यक्ष रेखा घर्तीले बताइन् । यस अघि सिंचाईका लागि धेरै समस्या भएको बताउँदै उनले यस आयोजनाबाट आफूहरु खुशी भएको उनको भनाई छ ।

चेपे लिफट सिंचाई :

घोराही–२ मा घोराही उपमहानगरपालिकाले निर्माण गरेको जलाशयबाट लिफ्ट सिंचाई आयोजना सञ्चालन गर्न लागिएको छ । चेपे लिफ्ट सिंचाई आयोजना सञ्चालन गर्न लागिएको आयोजना प्रमुख आचार्यले बताए । आयोजना प्रमुख आचार्यले घोराही उपमहानगरपालिकाले निर्माण गरेको जलाशयबाट आफूहरुले लिफ्टिङ मार्फत् सिंचाई आयोजना सुचारु गर्न लागेको जानकारी दिए । अहिले धेरैजसो काम सकिएको र अबको केही समयपछि उक्त आयोजना सञ्चालनमा आउने उनले बताए । अहिलेसम्म पम्पहाउस, पाईप लाईन विस्तार, ट्रान्समिसन लगायतका काम भएका छन्, जसबाट ७० हेक्टर जमिनमा सिंचाई गर्न पुग्नेछ ।