• बैशाख १० २०८२, बुधबार

सम्पदा नै काठमाडौंको गहना हो : मन्त्री श्रेष्ठ

मंसिर २९ २०७८, बुधबार

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सम्पदा नै काठमाडौँको गहना भएको बताउदै भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाको मुख्य दायित्वको रूपमा रहेको बताएका छन् ।

आज यहाँ २७ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले ऐतिहासिक सम्पदाको पुनःनिर्माण र संरक्षण गर्नुपर्ने बताएका हुन्। मन्त्री श्रेष्ठले हरेक वर्ष ठूलो समस्याको रूपमा रहेको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्यको शीघ्र समाधान गर्न पनि कामपाले अग्रसरता लिनुपर्नेमा जोड दिए ।

उनले कर्मचारी र जनप्रतिनिधिलाई अन्य स्थानीय तहलाई पनि सिकाइ हुने गरी उदाहरणीय काम गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले भने, ‘अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज र यसअघि एक पटक पनि कोरोनाविरुद्धको खोप नलगाएका नागरिकलाई आगामी चैत महिनासम्मा सरकारले खोप लगाउने तयारी गरेको छ ।’

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मेघा हल निर्माण, मोनो रेल सञ्चालन र तीनकुनेको बुद्धपार्क निर्माणका लागि केन्द्र सरकारको पनि सहयोग आवश्यकता पर्ने हुँदा काम अघि बढ्न नसकेको जानकारी दिए। उनले भने, ‘कामपाले गोर्खा भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा ठूलो फड्को मारेको छ ।’ हाल विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पनि बताइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेका छन् ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्ययममा कार्यरत १० जना पत्रकारलाई जनही रु ५० हजारका दरले सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने अन्य विभिन्न विधाका करिब २०० लाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।