• आश्विन १३ २०८१, आईतवार

कमजोरीका कारण लाज मर्नु

मंसिर २९ २०७८, बुधबार

एकजना निकै धनि व्यक्तिकोमा काममा सघाउने नोकर बस्थ्यो । उसको काम नजिकैको खोलाबाट पानी ल्याउनु हुन्थ्यो । जति पानी ल्यायो, त्यसका आधारमा उसले पैसा पाउँथ्यो । पानी ल्याउनका लागि माटोका २ वटा ठूला घैला थिए । त्यो नोकरले खर्पनमा ती घैला राखेर पानी ओसार्ने गथ्र्यो । उसले पानी ओसार्ने घैलामध्ये एउटा राम्रो थियो । अर्को घैलाको भने घाँटी भन्दा अलि तल प्वाल परेको थियो ।

सधैंसधैं काँधमा खर्पन राखेर पानी ल्याउँदा उसको टाउको र काँध झुकेको हुन्थ्यो । बाहिरबाट हेर्दा कठिनका साथ उसले पानी ल्याइरहेको जस्तो लाग्थ्यो । उसले दुवै घैलामा भरिभरि पानी बोक्थ्यो । खोलादेखि उसको मालिकको घरसम्म पुग्दानपुग्दै दुलो परेको घौलाको पानी आधा हुन्थ्यो । जहिले पनि ऊ डेढघैला पानी बोकेर घरभित्र छिरिरहेको हुन्थ्यो । दुई वर्षदेखि ऊ नियमित रुपमा यही गरिरहेको थियो । यस्तोमा स्वाभाविक रुपमा राम्रो घैलालाई घमण्ड हुने गर्दथ्यो ।

ऊ ठान्थ्यो, म जहिले पनि पुरापुर पानी बोकिरहेको छु । मलाई बनाउनेले पनि कति गज्जबसँग बनाएको छ, किनभने मलाई बनाइएको जुन उद्देश्यले हो, म त्यो पूर्णरुपमा गरिरहेको छु । पुरानो र दुलो परेको घैलालाई चाहिँ आफूप्रति सधैँ दुःख लाग्थ्यो । ‘मलाई किन यस्तो बनाएको होला ? मैमाथि किन यस्तो कमी हुनुपर्ने ? दुलो परेको घैलाको मनमा यस्तै कुरा मनमा खेल्थे ।

‘मलाई पनि सद्दे बनाइदिएको भए, म पनि त घैलाभरी पानी बोक्दो हुँ ।’ आफूभित्रैका दोषका कारण ऊ प्राय दुःखी हुन्थ्यो । दुःख यति बढ्यो कि एक दिन पीडामा आफूलाई सधै बोकिरहने मालिकसँग लजाउँदै माफी माग्यो । ‘मेरा कारणले गएको दुई वर्षदेखि तिमीले आधा मात्र पानी बोकिरहेका छौ । तिमी मिहिनेत त पुरै गर्छौ तर त्यो मिहिनेतको पुरा ज्याला पाइरहेका छैनौ ।’

पानी बोक्ने ज्यालादारले भन्यो,‘जब भोलि हामी मालिककोमा जान्छौं, बाटोमा फुलेका फूलहरु हेर्दै जाऊँ । तिमीलाई आनन्द लाग्नेछ ।’ भोलिपल्ट ज्यालादार आफ्नो उही खर्पन र दुई घैला लिएर जब आफ्नो मालिकको घरतिर जाँदै थियो । दुलो परेको घैलाले बाटोमा ख्याल गरायो । दुलो परेको घैलापट्टि राम्राराम्रा जङ्गली फुल फुलेका थिए । ती जङ्गली फूल ज्यादै सुन्दर देखिइरहेका थिए ।

पानी बोकेर मालिककोमा पुगिसक्दा त्यहि राम्रो फूलले पनि उसको अनुहारमा चमक ल्याउन सकेन । दुलो परेको घैला पुनः निराश भयो, किनभने उसले बोकेको पानी ज्यालादारको मालिककोमा पुगिसक्दा आधा भइसकेको थियो । आफ्नो यो कमजोरीका कारण उसलाई हुनसम्मको पीडा र लघुताभाष भयो । दुलो परेको घैलाको निन्याउरो अनुहार देखेर ज्यालादारले भन्यो ‘तिमीले ख्याल गरायौ ?

ती फुलेका जङ्गली फूल कसरी फुले र एकातिर मात्रै किन फुले ? लौ सुन, म तिमीलाई बताउँछु । मलाई पहिलेदेखि नै थाहा थियो । तिम्रो घाँटीमुनि प्वाल छ र, यो प्वालको मैले सक्दो फाइदा लिएँ । मैले हामी हिंड्ने गोरेटोको दुबै किनारामा फूलका बिऊहरु छरिदिएको थिएँ । जब हामी त्यो बाटोबाट पानी ल्याउँथ्यौँ, तिम्रो पानी ती बिऊमा पर्थे । तिमीले छोडेको पानीका कारण ती बिऊले चिस्यान पाए र त्यो चिस्यानका कारण हुर्किए । र आज ती मज्जाले सुन्दर फूल बनिसकेका छन् । केहीबेरको मौनतापछि ज्यालादार नोकरले भन्यो,‘अब म यी फूललाई टिप्छु र मालिकको घरभरी सजाउँछु । साँच्ची तिम्रो सहयोग नभएको भए, यी फूल यसरी उम्रिन्थे होलान् ? अनि तिम्रो सहयोग नभएको भए, मेरो मालिकको घरको शोभा बढाउन सक्थें होला त ?’