काठमाडौं । राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पारित गर्ने सरकारी षड्यन्त्रविरुद्ध आन्दोलनरत नेकपासहितका राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको बर्बर दमनको घोर निन्दा र भत्र्सना गरेका छन् ।
नेकपाका महासचिव विप्लव, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मङ्गलबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसीविरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाउने सबैमा धन्यवाद दिएका छन् ।
आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ र बन्दी बनाइएकाहरूको अविलम्ब रिहाइको माग पनि गरेका छन् । राजनीतिक पार्टीहरूले एमसीसी परियोजना फिर्ता नहोउन्जेल आन्दोलन जारी रहने पनि बताएका छन् ।
संंयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्रको स्वाधीनतामाथि अमेरिकी साम्राज्यवादी हस्तक्षेप गर्ने एमसीसी परियोजना र त्यसलाई नेपालको संसद्बाट पारित गराउने देउवा सरकार एवम् नेपाली दलाल तत्वहरूका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आज आयोजना गरेको संसद् भवन घेर्ने आन्दोलनको कार्यक्रम ऐतिहासिक, जुझारु, भव्य र सानदार रूपमा सपन्न भएको छ । सङ्घर्षको कार्यक्रमलाई यो स्तरबाट सफल पार्न सशक्त रूपमा सहभागी हुने पार्टीका नेता, कार्यकर्ता, सङ्घ, सङ्गठन, अभियन्ताहरू र आमनेपाली जनसमुदायमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौँ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आजको आन्दोलनमा प्रहरीको हस्तक्षेप र दमनका कारण नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता क. प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक क. आहुती, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य क. प्रेम दर्नाल, नेपाल कम्युनिस्ट पार्टीका कार्यालय सचिव क. चिरञ्जीवी ढकाल, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष क. प्रकाश शाहीलगायत नेता, कार्यकर्ता, जनता घाइते हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य क. परि थापा, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनलगायत ७३ जना नेता, कार्यकर्ता र जनतालाई गिरफ्तार गरेको छ । काठमाडौँ र चितवनमा सरकारले गरेको यो निरङ्कुशतावादी बर्बर दमनको हामी घोर निन्दा एवम् भत्र्सना गर्दछौँ । घाइते नेता तथा कार्यकर्ताहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । गिरफ्तार गरिएका आन्दोलनकारीहरूलाई तुरुन्त रिहा गर्न र घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रघाती एमसीसी परियोजनालाई अमेरिकी जो बाइडन सरकारले तत्काल फिर्ता नलिए र देउवा सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोलनको घोषणा गर्ने चेतावनी पनि दिन चाहन्छौँ ।’
प्रेस वज्ञिप्तिको पूर्णपाठ…