काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ।
राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो। पहिलो चरणमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन्।
देउवालाई तेस्रो, चौथो र पाँचौ स्थानमा आएका सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले सघाउने भएका छन्। कांग्रेसमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका छन्।
पहिलो चरणमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए भने ७६ मत बदर भएको थियो। मतदान सकिएको केही घण्टामै मतगणना शुरू गर्ने र आजै नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ।
प्रधानमन्त्री तथा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले मत खसालेका छन्। यस्तै सभापतिका अर्का प्रत्यासी शेखर कोइराला पनि मत खसाल्न मतदानस्थलतर्फ लागेका छन्।