• बैशाख १० २०८२, बुधबार

एमसीसी विरुद्ध संसद भवन अगाडी प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप, कयौं घाइते, दर्जनौं गिरफ्तार

मंसिर २८ २०७८, मंगलवार

काठमाडौं । सरकारले संसदबाट अमेरिकी एमसीसी पास गर्न लागेको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको संसद भवन घेराऊ गर्न पुगेका प्रदर्शनकारीमाथी प्रहरीले लाठीचार्ज गरेको हो । प्रहरीको लाठी प्रहारबाट दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।

क्रान्तिकारी माओवादी, नेकपा तथा वैज्ञानिक समाजवादी पार्टी लगायत दर्जनौं राजनीतिक पार्टीहरुको आयोजनामा आज संसद भवनको ४ वटै गेटमा प्रदर्शन गरिंदैछ । प्रदर्शन अहिले पनि जारी नै रहेको छ । प्रहरीले वैज्ञानिक समाजवादी पार्टी समर्थक दर्जन बढी कार्यकर्तालाई पक्राउ पनि गरेको छ ।

घाइतेहरुको टाउकोमा चोट लागेको छ भने उनीहरुको नजिकैका अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीले प्रहरी दमन मूर्दावाद, एमसीसी कुनैपनि हालतमा पास गर्न दिन्नौं, राष्ट्रिय स्वाधिनताको लागि लडिरन्छौं लगायतका नारा लगाइएका छन् । प्रहरी र प्रदर्शनकारी बीच केहीबेर लखेटालखेट भएको हाम्रा संवाददाताले जनाएका छन् ।

प्रदर्शनकारीले कालो झण्डा देखाउँदै नाराबाजी गर्न थालेपछि प्रहरी र उनीहरु बीच धकेलाधकेल भएको हो । आज सरकारले संसदमा एमसीसी पास गर्नका लागि पेश गर्ने जानकारी आएपछि विभिन्न पार्टीहरुले यसका विरुद्ध विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरुले हिजो अर्थात् २७ गते पनि काठमाडौंस्थित एमसीसीको कार्यालय अगाडी विरोध प्रदर्शन गरेका थिए ।

विभिन्न राजनीतिक पार्टीहरुले एमसीसी नेपालको स्वाधिनता र सार्वभौमसत्ता विरुद्ध भएको भन्दै यसलाई कुनैपनि हालतामा सदनबाट पास गर्न नहुने भन्दै विरोध जनाउँदै आएका छन् । देउवा सरकारले सदनबाट एमसीसी पास गर्न लागेको भन्दै यसका विरुद्धमा नेपालका धेरै बौद्धिक तथा स्वभाभिमानी नेपालीहरुले विरोध गर्दै आएका छन् ।