काठमाडौं उपत्यकामा वितरण गरिएको दूधमा कोलिफर्म नामक किटाणु पाइएको छ । उपभोग्य सामानहरुको अनुगमन र तिनमा रहेको गुणस्तरको मापन गर्दा दूधमा कोलिफर्म पाइएको हो । कोलिफर्म भनेको दिसाजन्य पदार्थमा पाइने हानीकारक किटाणु हो ।
पहिले पहिले उपत्यकामा पिउने पानीमा कोलिफर्म जीवाणु पाइएको पुष्टि भएको थियो । यो जीवाणु अहिले दूधमा पनि पाइएपछि यसले चिन्ताजनक स्वास्थ्य स्थिति सिर्जना गरेको छ । यसको मुख्य कारण पिउने पानी सफा नहुनु र दूधमा मिसाइने पानीमा यस्तो खालको जीवाणु रहनुका कारण दूध पनि प्रद्षित हुन गएको खाद्यविशेषज्ञको भनाइ छ ।
राजधानी सहरमै वितरण गरिने दूधमा कोलिफर्म पाइएपछि गुणस्तरहीनता र प्रदुषणले उपत्यकामा जनस्वास्थ्यलाई कति जटिल बनाउँदै छ भन्ने स्पष्ट झल्को पाइसकिएको छ । उपभोग्य सामानमा बेलाबेलामा गरिने परीक्षण र शुद्धता मापनले सुधार ल्याउन नसकेको पनि यसले देखाएको छ ।
यतिमात्र होइन, दूधजस्तै उपत्यकामा दैनिक उपभोग गरिने चिया, कफी तथा पानी मिसिएका पेय पदार्थहरुमा कोलिफर्म भेटिन गएको छ । स्मरणीय छ, कोलिफर्म भेटिएको यो पहिलो पटक होइन, तर पनि यसमा रोकथाम र सुधार हुन नसक्नुमा नापतौल तथा गुणस्तर विभागको कमजोरी पहिले देखि रहँदै आएको छ ।
पछिल्लो समयमा उपत्यकामा गरिएका नमूना परीक्षणमा पानी मिसिएका हरेक उपभोग्य पदार्थमा एकै प्रकृतिको किटाणु कोलिफर्म पाइनु भनेको उपत्यकामा प्रयोग गरिदै आएको पानीमा कोलिफर्म वा दिसाजन्य पदार्थ मिसिन पुग्नु नै हो ।
यसबाट पिउने पानीको स्रोत र उक्त पानीको व्यवस्थापन खानेपानी संस्थानले उचित रुपमा गर्न नसकेको स्पष्ट हुन्छ । उपत्यकाका खानेपानी पाइप र ढलनिकास आफैमा कति फोररहित र शुद्ध छन्, त्यसका बारेमा खोजिनिति समेत हुन सकेको देखिदैन ।
रेक मानिसका पौष्टिक आहारका रुपमा सिफरिस गरिने दूध नै कोलिफर्मजस्तो किटाणु मिसिएको पाइएपछि यसले जनताको रोगग्रस्त स्वास्थ्यस्थितिलाई सतहमा ल्याइदिएको छ । जनस्वास्थ्य कति जोखिममा छ भन्ने पनि यसले देखदाएको छ ।
बालबालिकादेखि बृद्धवृद्धाहरुले समेत नियमित सेवन गर्ने दूध र दूधजन्य पदार्थमा कोलिफर्मजस्तो घातक जीवाणु फेला परेपछि यसले सबैलाई चिन्तित बनाएको छ । शारीरिक रुपमा अस्वस्थ रहेका मानिसमा अब मानसिक रुपमा पनि अस्वस्थता पैदा गरिदिएको छ ।
यसले ‘स्वस्थ शरीर, स्वस्थ दिमाग’ को अवधारणालाई गम्भीर रुपमा लिनु पर्ने अवस्थामा पुर्याएको छ । अबका दिनमा बालबालिका तथा बृद्धबृद्धालाई नियमित दूध पिउन सल्लाह दिने चिकित्सक पनि खुलेर कसैलाई ‘दूध पिउनुहोस्’ भन्न नसक्ने अवस्था यसले सिर्जना गराएको छ ।
कोलिफर्म मानिसमा हैजा, आउँ, बान्ता, पातलो दिसा, खाना अपच हुँदा देखिन्छ । यसले पेटजन्य रोग निम्त्याउँछ । काठमाडौंमा ढलनिकाससँगै जोडेर वितरण गरिएका तर धेरै पुराना भैसकेका खानेपानीका पाइप खिया लागेर चुहुने भैसकेका छन् । तिनलाई ढिला नगरिकन फेर्नुपर्ने जरुरी भैसकेको छ ।
यसका साथै, उपत्यकामा वितरित खानेपानीका मूल र स्रोतहरुमा स्वच्छता र प्रदुषणरहितता जाँच हुनु जरुरी हुन गएको छ । पानी मिसाएर बनाइने उपभोग्य पदार्थ निर्माण गर्ने कन्फेक्सनरी उद्योगहरुमा अध्ययन र अनुसन्धान गरिनु जरुरी हुन गएको छ । मूलतः पिउने पानी कत्तिको स्वच्छ र स्वस्थ छ, त्यसको आधारभूत रुपमै अनुसन्धान हुनु जरुरी छ ।