काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र संसद् सचिवालयले सुशासनको शक्तिशाली सन्देश प्रवाह गर्न आवश्यक रहेको बताएका छन्। पन्ध्रौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले इतिहासले दिएको जिम्मेवारीलाई विवेकपूर्ण ढङ्गबाट पूरा गर्दै सुशासनको सन्देश प्रवाह गर्न राष्ट्रसेवकलाई निर्देशन दिए ।
सभामुख सापकोटाले भने, “चारैतिर निराशा रहेका बेला हामीले देश र जनताको सेवामा इमान्दार, निष्ठा र अनुशासनमा रही सुशासनको शक्तिशाली सन्देश दिन सक्नुपर्छ । हामी सबै त्यसतर्फ लागौँ ।” जीवन्त र जनमुखी मात्र होइन, जनताको ढुकढुकी र लोकधारकारुपमा रहेको संसद् सेवाका कर्मचारीलाई लोकतन्त्रको मूल्य मान्यताअनुरुप क्रियाशील हुन सुझाव दिँदै उनले भने, “म आफू पनि राष्ट्र र इतिहासले दिएको जिम्मेवारीलाई निष्ठा र इमान्दारीका साथ पूरा गर्नेछु ।”